घाेराही, २७ साउन । दाङको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पूर्व प्राध्यापक नारायण अधिकारी निर्वाचित हुनु भएको छ।
समितिको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा ४ मतको अन्तरले अधिकारी अध्यक्षमा निर्वाचित हुनु भएको हो। निर्वाचनको मत गणना सकिएपछि शनिबार बेलुका ८ बजे सार्वजनिक मतपरिणाम अनुसार अधिकारिले १२१ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी महेन्द्र खनालले ११७ मत प्राप्त गर्नु भएको छ। खनाल र अधिकारी दुबै जना एमाले निकट हुनुहुन्छ। जसको उपाध्यक्षमा श्रीधर भण्डारी निर्वाचित हुनु भएको छ भने महिला उपाध्यक्षमा निरजा पोखरेल, सचिवमा दामोदर भुसाल, र कोषाध्यक्षमा माधव चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ। अन्य सदस्यहरूका लागि निर्वाचन भएको थियो।
अध्यक्षमा निर्वाचित भएपछि अधिकारिले आफूलाई जिताउन सहयोग गर्ने सम्पूर्ण मतदाता, निर्वाचन समिति, सुरक्षाकर्मी, तथा शुभेच्छुक सबैमा धन्यवादसहित आभार व्यक्त गर्नु भएको छ। उहाँले मन्दिर विकास र प्रवर्द्धनमा सबैसँग सल्लाह, सुझाव लिएर अघि बढ्ने बताउँदै निर्वाचनका तिता मिठा भुलेर साझा संकल्पका रूपमा मन्दिरको विकासलाई लिएर अझ एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भयो। मन्दिर सबैको आस्थाको धरोहर भएकाले मतदाताले अध्यक्षमा निर्वाचित गराएर थप जिम्मेवारी दिएकाले जिम्मेवारी अनुसार काम गर्ने पनि उहाँको भनाइ छ।
अधिकारी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा लामो समयदेखि शिक्षण पेशामा रहि अध्यापन गर्दै आउनु भएको थियो भने खनाल घोराही १८ को एमालेबाट वडा अध्यक्षमा यसअघि चुनाव जित्नु भएको थियो। जम्मा २८१ मतदाता रहेको मन्दिर समितिमा २५० मत मात्रै खसेको थियो।