२०३७ सालबाट भित्रिएको बोर्डिङ शिक्षा अर्थात असमान शिक्षाको विरुद्ध तथा राजनीतिक अधिकारको लागि संगठित रूपमा २०३७ साल असारमा तत्कालीन अनेरास्ववियू (छैठौं) कृष्ण सेन इच्छुकको नेतृत्वमा ७ सदस्यीय समितिले लालमटिया ब्राहखुटीमा पहिलो जिल्ला सम्मेलन सम्पन्न गर्यो । त्यतिबेला क्रान्तिकारी योद्धाहरू थोरै भए पनि नेविसंघका गुण्डाहरूसँग प्रतिरोधात्मक ढंगले निरन्तर लडिरहेका थिए ।
इच्छुक एक महान योद्धा हुन् । दङ्गाली विद्यार्थी आन्दोलनलाई अगाडि बढाउँदै गर्दा उहाँ दुश्मनको फन्दामा परी लामो समयसम्म दुश्मनको काल कोठरीमा जीवन बिताउनु भयो तर सर्वहारा विचारबाट दुश्मन सामू कहिल्यै झुक्नु भएन । दङ्गाली विद्यार्थी आन्दोलनका संस्थापक अध्यक्षसमेत रहनु भएका इच्छुक साहित्य र कलामा पनि प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । शाही प्रतिक्रियावादीले २०५९ सालमा उहाँको हत्या गर्यो । आज उहाँ हाम्रो सामु सम्पूर्ण जिम्मेवारी छोडेर जानु भएको छ ।
२०३८ साल माघमा डिल्ली अधिकारीको अध्यक्षतामा १३ सदस्यीय काभ्रे गा.वि.स.को कमीरेचौरमा अर्ध भूमिगत अवस्थामा दोस्रो जिल्ला सम्मेलन सम्पन्न भयो । त्यतिबेला पनि मुख्य लडाइँ नेविसंघसँग नै थियो । २०४० साल स्ववियू चुनावमा अखिलबाट म.ब.क्या. भरतपुरमा पहिलो निर्वाचित सभापति पनि हुनुहुन्थ्यो । २०४१ साल असोजमा मेघराज शर्माको नेतृत्वमा ११ सदस्यीय रामपुरको सुर्केडाँगी भूमिगत अवस्थामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न भयो ।
२०४२ सालमा चित्रजंग शाहीको अध्यक्षतामा १३ सदस्यीय रामपुरको सुर्केडाँगीमै भूमिगत अवस्थामा चौथो जिल्ला सम्मेलन सम्पन्न भयो । २०४३ सालमा मधुसूदन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय लक्ष्मीपुरमा भूमिगत अवस्थामा पाँचौं जिल्ला सम्मेलन सम्पन्न भयो ।
२०४४ सालमा तारा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय लक्ष्मीपुरमा भूमिगत अवस्थामा छैठौं जिल्ला सम्मेलन सम्पन्न भयो । उहाँको कार्यकालसम्म आउँदा पनि निरन्तर नेविसंघसँगको लडाइँ चलिरह्यो । त्यसै क्रममा अखिलको आयोजनामा म.ब.क्या मा कार्यक्रम गरिएको थियो । कार्यक्रमको सिलसिलामा नेविसंघसँग झडप भइरहेको बेला शान्ति सुरक्षाको नाममा शाही जल्लादहरूले गिरफ्तार गरी ११ महिना जेलको चिसो छिडी राखेका थिए ।
२०४७ साल जेठमा टेक बहादुर बुढाको नेतृत्वमा ११ सदस्यीय म. ब. क्या. भरतपुरमा खुला अवस्थामा सातौं जिल्ला सम्मेलन सम्पन्न भएको थियो । २०४८ भाद्र ११ मा मधुसूदन वैद्यको अध्यक्षतामा ११ सदस्यीय घोराहीमा आठौं जिल्ला सम्मेलन सम्पन्न भयो ।
२०४९ साल चैत १३ मा भोजपुरमा माधव घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गर्दै नवौं जिल्ला सम्मेलन सम्पन्न भयो । २०५० सालमा माधव घिमिरेको अध्यक्षतामा ११ सदस्यीय प्रतिरोधात्मक दशौं जिल्ला सम्मेलन सम्पन्न भयो । दुश्मन प्रति घृणाभाव बोकेका घिमिरे एक कुशल संगठकको रूपमा चिनिनु हुन्थ्यो । पार्टीको कामको सिलसिलामा २०५५ सालमा दुश्मनको गोली लागि उहाँको शहादत भयो । २०५४ साल असोजमा निर्मल आचार्यको अध्यक्षतामा १७ सदस्यीय घोराही कारागारमा अर्ध भूमिगत अवस्थामा एघारौं जिल्ला सम्मेलन सम्पन्न भयो । उहाँलाई क्याम्पसमा अध्ययन गरिरहेको अवस्थामा गिरफ्तार गरि बन्धक बनाइएको थियो । त्यही बेला उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँ दाङको विद्यार्थी आन्दोलनको इतिहासमा सबैभन्दा लामो ५० महिना जेल जीवन बिताउनु भएको थियो । हाल उहाँ माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा दाङ जिल्ला ईन्चार्ज हुनुहुन्छ ।
२०५७ साल भाद्रमा कमल पुनको अध्यक्षतामा १७ सदस्यीय स्युजा रावधारामा बाह्रौं जिल्ला सम्मेलन सम्पन्न भएको थियो । पुनः २०५८ साल कमल पुनको नेतृत्वमा २३ सदस्यीय तुलसीपुरमा खुला अवस्थामा तेह्रौं जिल्ला सम्मेलन सम्पन्न भयो । केही समय पछि उहाँ गिरफ्तार हुनुभयो । जिल्ला नेतृत्व विहीन हुन पुग्यो । तत्पश्चात उपाध्यक्ष प्रदीप वलीलाई अर्को सम्मेलन नहुँदासम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मा सम्हाल्न भनिएको थियो । कमल पुन रोल्पामा जन्मे पनि दङ्गाली विद्यार्थीहरूलाई संगठित गरी नेतृत्व गर्नुभएको थियो । संगठनको कामको सिलसिलामा वहाँलाई २०५९ सालमा प्रहरीले गिरफ्तार गरि हत्या गरेको थियो ।
२०६० साल असारमा विश्वराज आचार्यको अध्यक्षतामा १५ सदस्यीय उ.मा.वि. श्रीगाउँमा खुला अवस्थामा चौधौं जिल्ला सम्मेलन सम्पन्न भएको थियो । २०५७ सालको स्ववियू निर्वाचनमा अखिलको संयुक्त प्यानलबाट उप सभापतिमा निर्वाचित हुनुभयो । वहाँ क्रममा दुई पटक जेल पर्नु भएको थियो । हाल उहाँ नेकपा माओवादी केन्द्र दाङ्ग जिल्ला सचिव हुनुहुन्छ ।
२०६१ साल कात्तिकमा खुशिराम चौधरीको अध्यक्षतामा १७ सदस्यीय विजौरी गोदेमा भूमिगत अवस्थामा पन्ध्रौं जिल्ला सम्मेलन सम्पन्न भयो । उहाँ संगठनको केन्द्रीय उपाध्यक्षसम्म काम गर्दै विद्यार्थीबाट विदा भएर नेकपा माओवादी केन्द्र तुल्सिपुर नगर कमिटी अध्यक्ष तथा तुल्सिपुर १२ का निर्वाचित जनप्रतिनिधि (वडा अध्यक्ष) हुनुहुन्छ ।
२०६३ साल भाद्र १३ र १४ गते गणेश चौधरीको नेतृत्वमा ३३ सदस्यीय तुलसीपुरमा खुला अवस्थामा सोह्रौं, २०६४ साल पौष १ र २ मा पुनः गणेश चौधरीकै नेतृत्वमा ४३ सदस्यीय घोराहीमा सत्रौं जिल्ला सम्मेलन सम्पन्न भयो । त्यसै गरी २०६६ भदौ २१ र २२ गते बसन्त चौधरीको नेतृत्वमा ३१ सदस्यीय घोराहीमा अठारौं जिल्ला सम्मेलन सम्पन्न भयो ।
२०६९ सालमा पार्टीमा विभाजन आयो । २०६९ साल फाल्गुनमा घोराहीमा सुमन रोकामगरको अध्यक्षतामा ५१ सदस्यीय समिती चयन गर्दै १९ औँ जिल्ला सम्मेलन सम्पन्न भयो ।
२०७१ साल फाल्गुन २८ गते घोराहीको साई मन्दिरमा विष्णु चौधरीको अध्यक्षतामा ७५ सदस्यीय समिती चयन गर्दै २० औं जिल्ला सम्मेलन सम्पन्न भयो । २०७३ फाल्गुन २८ र २९ गते बेलझुण्डीमा सन्तोष पोख्रेलको अध्यक्षतामा ७५ सदस्यीय समिती चयन गर्दै २१ औं जिल्ला सम्मेलन सम्पन्न भयो ।
अनेरास्ववियू (क्रान्तिकारी) को २०७४ भाद्र ७-११ सम्म सम्पन्न भएको २१ औं राष्ट्रिय सम्मेलनबाट उहाँ केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । आफू केन्द्रीय समितिमा चयन भैसकेपछि उहाँले जिल्ला अध्यक्षबाट विदा लिनुभयो । २०७४ असोजमा भएको जिल्लाको विशेष भेलाबाट जंग रोका संयोजक र सुवास बस्नेत सह संयोजकमा चयन हुनुभयो ।
२०७४ को संघ र प्रदेशको चुनावमा बाम गठबन्धन भयो र ऐतिहासिक बहुमत ल्याउन सफल भयो । बाम गठबन्धनको जगमा दुई पार्टी बीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । पार्टी एकता भैसकेपछि संगठन पनि एकीकरण भयो र संगठनको नाम अनेरास्ववियू रह्यो । ऐन महर केन्द्रीय संयोजक र रञ्जित तामाङ सह संयोजक हुनुभयो । दाङ जिल्लामा अनेरास्ववियूको संयोजकको जिम्मेवारी जंग रोकालाई दिइयो भने सह संयोजकको जिम्मेवारी सर्जन परियारले पाउनुभयो । झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार विघटन हुन पुग्यो । पार्टी विभाजन भई पुरानै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको रूपमा बाँकी रह्यो । त्यसको स्वाभाविक असर विद्यार्थी संगठनमा पनि पर्यो र अनेरास्ववियू (क्रान्तिकारी) दाङको नेतृत्वमा जंग रोका नै रहनुभयो ।
घोराहीको साई मन्दिरमा २०७८ भाद्र २८ गते भएको २२ औं जिल्ला सम्मेलनले कल्याण अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गर्दै सम्मेलन सम्पन्न भयो । २०७९ साउन १४ गते अनेरास्ववियू (क्रान्तिकारी) दाङका अध्यक्ष कल्याण अधिकारीको अध्यक्षता, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष प्रविणा अधिकारीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यको विशिष्ट आतिथ्य, माओवादी केन्द्र दाङका जिल्ला संयोजक सुवास पुन, सचिव विश्वराज आचार्य, संगठनका केन्द्रीय सदस्य द्वय जंग रोका र बिन्दु खड्का, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भीमराज खरेल, प्रमुख सचिन राजेन्द्र बिष्ट, सचिव मदन जिएमको विशेष उपस्थितिमा भएको विशेष जिल्ला भेलाबाट गिरबहादुर महरालाई जिल्ला संयोजक चयन गर्दै भेला सम्पन्न भयो। यहाँसम्म रक्तपातपूर्ण संघर्षको इतिहास बोकेर आएको संगठनले विद्यार्थीहरूको हक र अधिकारका निम्ति धेरै जिल्लाका साथीहरू, बाह्रौं जिल्ला सम्मेलनका अध्यक्ष कमल पुन लगायतका साथीहरूको बलिदान र कैयौं साथीहरूको गिरफ्तारी सहनुपरेको थियो ।
ठूलो चुनौतीपूर्ण संघर्ष गर्नुपरेको संगठनले निशुल्क शिक्षा र निजी विद्यालयहरूसँगको शुल्क विरोधी आन्दोलनमा शैक्षिक माफियाहरूसँग जुध्न पाएको छ।
हाल, अखिल (क्रान्तिकारी) दाङ २३ औं जिल्ला सम्मेलनको तयारीमा छ। दाङ जिल्ला संयोजक गिरबहादुर महराका अनुसार हाल संगठन कलेज, क्याम्पस र पालिकाहरू हुँदै भाद्र ९ गते जिल्ला सम्मेलनको मिति तय गर्दै अघि बढेको छ।