प्रदेशको पर्यटन प्रवद्र्धनमा काम गर्छौं : न्यौपाने

घोराही । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले यस क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

प्रदेशको पर्यटन क्षेत्र आर्थिक विकासको बलियो आधार भन्दै मन्त्री न्यौपानेले त्यसैले पर्यटन प्रवद्र्धनमा सरकारको प्राथमिकता रहेको बताउनुभयो । नेपाली कांग्रेस दाङ २ (ख) ले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश संरचनामाथि नै प्रश्न उठिरहेको भन्दै प्रदेशको औचित्य पुष्टि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘अहिले प्रदेशको संरचनामाथि नै विभिन्नखाले प्रश्नहरु उठाइएका छन्’– मन्त्री न्यौपानेले भन्नुभयो– ‘प्रदेशको औचित्य पुष्टि गर्नका लागि प्रदेशको समृद्धि अपरिहार्य छ र समृद्धिको आधार पर्यटन हो । त्यसका लागि हामीले काम गर्छौं ।’

सो अवसरमा मन्त्री न्यौपानेले यातायात क्षेत्रमा भएका बेथिति अन्त्यका लागि पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । लुम्बिनी प्रदेशमा उद्योग दर्ता गर्ने भन्दा उद्योग बन्द हुने क्रम बढेको भन्दै मन्त्री न्यौपानेले उद्योग क्षेत्र धरासायी बन्नुको कारण खोजी गरिने पनि बताउनुभयो । साथै उद्योग क्षेत्रलाई धरासायी हुनबाट जोगाउन उद्योगमैत्री वातावरण प्रदेश सरकारले निर्माण गर्ने उहाँको भनाइ थियो । कांग्रेस दाङ २ (ख) का सभापति अभियान बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्यहरु पृथ्वी चौधरी, गोमा रावत, क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, घोराही नगर सभापति तिलक रावत, घोराही–९ का वडा सभापति महेन्द्र दाहाल, कांग्रेस २ (ख) का उपसभापति शरद समीपलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस २ (ख) का सचिव तिलक केसीले गर्नु भएको थियो ।

यसैबीच मन्त्री न्यौपानेले तुलसीपुर–१८ का मतदाताहरु सँग भेट गर्नुभएको छ । भेटमा मन्त्री न्यौपानेले स्थानीयलाई विकासको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघले मन्त्री न्यौपानेलाई बुधबार सम्मान गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताउनुभयो । कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *