घोराही उपमहानगरको बजेट कार्यक्रम पारित

दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि १५ औँ अधिबेशनमा पेश गरेको बजेट २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँ बजेट सर्वसम्मतिले पारित गरेको छ ।

नगरसभाको १५ औं अधिवेशनमा आइतबार उपप्रमुख हुमाकुमारी डिसीले पेश गर्नुभएको बजेट कार्यक्रम माथी मंगलबार नगरसभा सदस्यहरुको सुझाब लिदै सर्वसम्मतिले पारित गरेको हो । सभामा नगर प्रमुख नरुलाल चौधरीले पारित भएको बजेट कार्यक्रमलाई सफल कार्यान्वयनका लागि जिम्मेवारी पूर्वक काम गर्न सबै जनप्रतिनिधी, कर्मचारी र नगरबासीहरुलाई आग्रह गर्नुभयो । नगरले चालु खर्च १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२ दशमलब ३५ प्रतिशत र पुँजीगत खर्च १ अर्ब १५ करोड ६७ लाख ६ हजार अर्थात ४७ दशमलब ६५ प्रतिशत रहेको छ ।

नगरले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटमा लैंगिक हिंसामुक्त नगर घोषणा, सुरक्षित वैदेशिक रोजगार नगर घोषणा र खोतीयोग्य जमिन बाँझो रहन नदिने जस्ता नयाँ कार्यक्रम बजेटमा समेटिएका छन् । बजेटमा सिंचाइ, डिपबोरिङ, कुला, बाँध निर्माण, किसानलाई अनुदानमा सामग्री वितरणलगायतका कृषि सम्बन्धी योजनालाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी, कृषियोग्य भूमि बाँझो हुन नदिन भूमि बैंक कार्यक्रमलगायत कृषि विकास कार्यक्रममा ३ करोड २३ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । पशुपालनतर्फ १ करोड २० लाख, पर्यटन तथा संस्कृती प्रवर्धनतर्फ २ करोड ८३ लाख ७५ हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ ८४ करोड ८४ लाख ४७ हजार रुपैयाँ विनियोजन भएको छ ।

जनस्वास्थ्य प्रबर्धनका लागि ९ करोड २६ लाख ८५ हजार, महिला, बालबालिका तथा सामाजिक समावेशिकरणतर्फ १ करोड ११ लाख ३० हजार र बहुवर्षीय पूर्वाधार विकासका लागि ५० करोड ९४ लाख रुपैयाँ विनियोजन भएको छ । सडक, खानेपानी, विद्युत, पार्क, उद्यानलगाएतका पूर्वाधार विकासका लागि ८१ करोड ५३ लाख ४५ हजार, सरसफाई, वन, वातावरण र विपद् व्यवस्थापनका लागि ३ करोड ५३ लाख ४५ हजार रुपैयाँ विनियोजन भएको छ ।

सूचना तथा सञ्चार प्रविधितर्फ ७० लाख, वडा कार्यालयतर्फ १५ करोड २९ लाख ८७ हजार र दैनिक कार्य सञ्चालन, आन्तरिक व्यवस्थापन, तलब भत्तातर्फ ३६ करोड रुपयाँ विनियोजन भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *