चेतना अनलाइन
घाेराही । घोराही उपमहानगरपालिकाले भित्री सडकहरूमा पनि सडक कालोपत्रेका लागि उच्चस्तरीय प्रविधि अक्सपाल्ट प्रयाेग गर्न थालेकाे छ ।
यो प्रविधिले कालोपत्रे हुँदा सडक उच्च गुणस्तरको हुने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा राष्ट्रिय सडक सञ्जालहरूमा प्रयोग गरिने प्रविधि अहिले उपमहानगरपालिकाका भित्री सडकहरूमा पनि कालोपत्रेका लागि प्रयोग गर्न थालिएको छ।
अक्सपाल्ट प्रविधि प्रयोग गर्दा लागत बढी लागे पनि सडकको गुणस्तर भने निकै राम्रो हुने चौधरीको भनाइ छ। आगामी दिनमा अन्य भित्री सडकहरुमा पनि यो प्रविधि प्रयोग गर्ने गरी आफूहरुले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका १७ को हरिद्धार चोक देखि कटुवाखोला सम्मको ६ सय मिटर सडक अक्सपाल्ट प्रविधीबाट कालोपत्रे गरिएको छ ।
संघीय र स्थानीय सरकारको समपुरक ८५ लाख बजेटबाट उक्त सडक कालोपत्रे गरिएको हो । कालोपत्रे पछि नगर प्रमुख नरुलाल चौधरी र पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले सडकको निरिक्षण गर्नुभएको थियाे ।
