माओवादी दाङमा जिम्मेवारी हेरफेर, इञ्चार्जमा आचार्य, सहइञ्चार्जमा दहित, संयोजकमा पुन

देउखुरी, १५ चैत । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसमा कतिपय पुरानैको जिम्मेवारी यथावत रहेको छ भने केही पदमा नयाँले जिम्मेवारी पाएका छन् ।
पार्टी केन्द्रले दोहोरो जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुले सम्हालेको पद जनप्रतिनिधि अन्य नेताहरुलाई हस्तान्तरण गर्ने नीति लिएपछि जिल्लास्तरमा पनि जिम्मेवारी हेरफेर गरिएको हो ।
जसअनुसार माओवादी केन्द्र दाङको इञ्चार्जमा निर्मल आचार्य यथावत रहनुभएको छ भने सह इञ्चार्जको जिम्मेवारी रामबहादुर दहितले पाउनुभएको छ । दहित हाल पार्टी केन्द्रीय लेखा आयोग सदस्य रहनुभएको छ ।
दाङ जिल्ला संयोजकको जिम्मेवारी हरिमान पुन ‘बरुण’ले पाउनुभएको छ । जनयुद्धकालमा तत्कालीन जनमुक्ति सेनाको डिभिजन सहकमाण्डर रहनुभएका पुन हाल प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।
प्रदेश बैठकले दाङ जिल्ला समन्वय समितिको सचिवमा विश्वराज आचार्यलाई नै कायम राखेको छ । त्यस्तै एकता प्रक्रियाबाट आउनुभएका ईश्वरी पाण्डेय, खेमराज ओली र डिल्लीराज खड्का ‘आजाद’लाई प्रदेश समिति सदस्यको जिम्मा दिइएको छ । पाण्डेय र ओली विप्लव नेतृत्वको नेकपा तथा आजाद नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्रमा समाहित हुनुभएको थियो ।
प्रदेश बैठकले रमेश ओली ‘राजन’, खुशीराम चौधरी र प्रकाश विष्टलाई प्रदेश सदस्यमा मनोनित गरेको छ । बैठकले डिल्लीबहादुर रावतलाई प्रदेश सल्लाहकारमा मनोनित गरेको छ । समाजसेवी एवं पर्यावरण अभियन्ता रावत केही समयअघि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *