दाङमा कार्यकर्ता माझ प्रचण्डको उद्घाेष – ‘कम्युनिस्टहरूकाे एकता जरुरी भइसक्यो’

फागुन १९, दाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूबिचकाे एकता जरुरी भइसकेकाे बताउनुभएको छ ।

शनिबार दिउँसो दाङको भालुवाङमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले अहिले पार्टी पुनर्निर्माण देखि समाजवादी माेर्चा हुँदै कम्युनिस्ट पार्टीहरू बिचकाे एकता प्रकृया प्रारम्भ भएकाे बताउनुभयाे ।

अहिले प्रतिक्रियावादी शक्तिहरूलाई माओवादीको नेतृत्वमा रहेको सरकारले गरेको जनपक्षीय कामको चित्त नबुझेको र सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको प्रचण्डको भनाइ छ।

आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको उहाँले बताउनुभयाे ।

प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु। प्रतिकूल परिस्थितिका बाबजूद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ। यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ। त्यसले देशमा नयाँ वातावरण बनाउनेछ।”

यसअघि प्रधानमन्त्री प्रचण्डले बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो।

अगुवा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं सञ्चारमन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरा लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *