क्रान्ति र शान्तिको सम्मिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी हाे : प्रधानमन्त्री

देउखुरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्य भूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताएका छन् ।

“विश्वशान्तिका अग्रदूत गौतम वुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्य भूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित छ,” लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, “क्रान्ति र शान्तिको सम्मिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ।”

लुम्बिनीको विश्वव्यापी महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्ध भूमिको ‘ब्राण्डिङ’ गर्ने, पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को हान्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

क्रान्तिकारी नेतृत्व नै शान्तिको महत्त्वलाई गहिरो गरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताएका छन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको रहेको बताए ।

“हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले मैले भन्ने गरेको छु– जसले क्रान्तिको नेतृत्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ ।”

आफू तेस्रो पटक सरकारको नेतृत्वमा आएपश्चात् सङ्घीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तर प्रदेश समन्वय परिषद्को बैठक गरी सङ्घीयता कार्यान्वयनमा गति दिइएको बताए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *