स्वर्गद्वारी गुठी पीडित मोही किसानलाई वार्तामा आउन सरकारकाे आव्हान

चेतना अनलाइन

घोराही । सरकारले विगत केही दिनदेखि निरन्तर सडक आन्दाेलन गरिरहेका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूलाई वार्तामा आउन आव्हान गरेकाे छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घोराहीमा मोही किसानको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता श्रेस्ता कायम भई दाङमा रहेको जग्गामा आश्रम र संघर्ष समिति बीचको समस्या समाधानको लागि ठोस पहल थालिसकेको बताएको छ ।

‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबाट विगत केही दिनदेखि दाङको घोराहीमा भइरहेको आन्दोलनप्रति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयप्रति संवेदनशीलता देखाउँदै मन्त्रालयले स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता श्रेस्ता कायम भई दाङमा रहेको जग्गामा आश्रम र संघर्ष समिति बीचको समस्या समाधानको लागि ठोस पहल थालिसकेको छ,’ मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सहसचिव गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा आश्रम र संघर्ष समिति बीचको समस्या समाधानको लागि मन्त्रालयले आजै मन्त्रालयका सहसचिव कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको उल्लेख गरिएकाे छ । समितिमा जिल्ला प्रशासन कार्यालय, दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय घोराही, दाङका प्रमुख मालपोत अधिकृत तथा गुठी संस्थान र स्वर्गद्वारी आश्रमका १/१ जना प्रतिनिधि सदस्य रहेका छन् ।

मन्त्रालयले आन्दोलनरत पक्षलाई आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरी वार्तामा बसेर छलफल एवम् संवादबाटै समस्याको समाधानकाे आव्हान समेत गरेको छ ।

दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसानहरू केही दिनदेखि आन्दोलनमा छन् । दाङमा आन्दोलन सुरु भएलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीलाई समस्या समाधानका लागि अनुरोध गर्नुभएको थियो । उहाँले गत मन्त्रिपरिषद्को बैठकमा पनि यो एजेन्डा उठाउनुभएको थियो ।

लगातारको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष निर्देशनमा भूमिसुधार मन्त्रालयले वार्ता समिति गठन गरेको र अब आन्दोलनरत पक्ष वार्तामा आएर समस्या समाधानमा लाग्नुपर्ने मन्त्री शर्माले बताउनुभयो । आन्दोलन सुरु भएलगत्तै आफूले निरन्तर आन्दोलन पक्षका आवाज सुनिरहेको जानकारी दिंदै उहाँले प्रधानमन्त्री र विभागीय मन्त्रीसँगको लगातारको छलफलपछि वार्ताको वातावरण बनेको र अब वार्ताबाटै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *