विश्व कीर्तिमानी हरि बुढा मगरलाई नागरिक अभिनन्दन गरिने

घोराही, १२ फागुन । विश्व कीर्तिमानी हरि बुढा मगरलाई नागरिक अभिनन्दन गरिने भएको छ । घुँडामाथिबाट दुवै खुट्टा गुमाए पनि कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी राखेका बुढालाई नागरिक अभिनन्दन गर्न थालिएको हो ।
गोर्खा ग्रुप दाङको आयोजनामा विश्व कीर्तिमानी बुढालाई नागरिक अभिनन्दन गर्न थालिएको छ । आज शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले यही फागुन १४ गते सोमबार बुढालाई नागरिक अभिनन्दन गर्न थालिएको जानकारी दिएको हो ।
सन् १९९९ जनवरी १ मा ब्रिटिस आर्मीमा भर्ना बुढाले सन् २०१० अप्रिल १७ को अफगानिस्तानको युद्धमा दुवै खुट्टाहरु घँुडामाथिबाट गुमाएका थिए । जीवनप्रति कहिल्यै निराश नभई उच्च मनोबलका साथ सधै सकारात्मक दिशातर्फ आफूलाई एक सामाजिक अभियन्ताका रुपमा स्थापित गर्न क्रियाशील बुढाले २०८० साल जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा विश्वको उच्च शिर सगरमाथा आरोहण गरेका थिए ।
नागरिक अभिनन्दन कार्यक्रमका लागि आगामी सोमबार आठ बजे घोराहीस्थित तुलसीपुर चोकबाट नगर परिक्रमा गराउने कार्यक्रम रहेको आयोजक संस्थाले बताएको छ । नगर परिक्रमा तथा चोक चोकमा गरिने अभिनन्दन तथा सम्मान पश्चात सभा गृहमा एक औपचारिक कार्यक्रमका बिच बुढालाई सम्मान गरिने ग्रुपका अध्यक्ष मानबहादुर बुढाले बताएका छन् । साथै अभिनन्दन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण नागरिकलाई अपील गरिएको छ ।
अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा अभिनन्दन कार्यक्रमका प्रचार प्रसार समितिका संयोजक दुर्गालाल केसीले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *