घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित आधारभूत विद्यालय सवारीकोटमा निर्माण गरिएको चार कोठे पक्कि भवनको नगर प्रमुख नरुलाल चौधरीबाट उद्घाटन गरिएको छ ।
घोराही उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/८० र २०८०/८१ को बजेट करिव ६९ लाख रुपैयाँको लागतमा बनेको भवनको श्री पञ्चमीको अबसर पारेर नगर प्रमुखबाट उद्घाटन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कुँवर योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख चौधरी, विशिष्ट अतिथी सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलको विशिष्ट आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।
नगर प्रमुख चौधरीले सवारीकोट विद्यालयको विकासमा नगरले विषेध ध्यान दिएको बताउनुभयो । पूर्वाधारलाई सम्पन्न बनाउने क्रममा चारकोठे पक्कि भवन बनाएको र यस आर्थिक बर्षमा शौचालय र खानेपानी ट्यांकी निर्माणका लागि १३ लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । अब पढाई र शिक्षण सिकाईमा गुणात्मक सुधार ल्याउने गरि शिक्षक, विद्यार्थी, अभिभाबकहरुले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, सामाजिक विकास महाशाखा प्रमुख गौतम र पूर्वाधार महाशाखा प्रमुख पौडेलले सवारीकोट विद्यालयलाई स्रोत साधन, जनशक्ति र संरचना युक्त विद्यालय बनाईने बताउनुभयो ।