घोराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन घोराही उपमहानगर कमिटीद्वारा शहिद दिवसका अवसरमा दिप प्रज्वलन गरिएको छ ।
अनेरास्ववियु घोराही नगर अध्यक्ष रविभक्त केसीको अध्यक्षता तथा नेकपा एमालेका स्कुल विभाग प्रमुख बिवेक श्रेष्ठको प्रमुख आतिथ्यता तथा अनेरास्ववियु दाङका जिल्ला सहसचिव वसन्त भण्डारीको विशिष्ठ आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरेर दिप प्रज्वलन गरि दिवस मनाईएको छ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा गरिएको कार्यक्रममा सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली र विद्यार्थी बिनिता केसीले साहित्यिक श्रृजना र गित प्रस्तुत गर्नुभएको थियो ।
अनेरास्ववियु नगर कमिटी सदस्य श्रीकृष्ण गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव प्रेमप्रकाश वलीले गर्नुभएको थियो । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ।
शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ ।