घाेराही, ११ माघ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।
दाङको सदरमुकाम घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा आजै भएको निर्वाचनपछि गरिएको मतगणनामा अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।
नेपाली कांग्रेसकी विष्णु सापकोटाले ५४३५ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनकी प्रतिष्पर्धी नेकपा (एमाले)की तुलसा केसीले २८६७ मतभार पाएकी थिइन् ।
लुम्बिनी प्रदेशमा नेकपा (एमाले)बाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए । राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरीले उम्मेदवारी दिएका थिए ।
राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना भएको थियो ।
लुम्बिनी प्रदेशमा दुईजनाको पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।