वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ : पुन

काठमाडौँ, ६ माघ/ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच आज यहाँ भएको अन्तरक्रियामा उहाँले  निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गर्नुभयो ।

उपमहासचिव पुनले भन्नुभयो, “संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो, विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प छैन ।” वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई मुलुकको आवश्यकतानुसार बनेको उहाँको भनाइ थियो ।

पुनले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र सङ्घीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा सातवटै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताउनुभयो । ठूलो जनसङ्ख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर आठ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशको स्वार्थको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ ११ हुँदैछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *