व्यावसायीलाई करको दायरामा ल्याउन मेयर चौधरीको निर्देशन

विमल योगी
दाङ,१७ मंसिर । घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले स्थानीय तहलाई बलियो बनाउने राजश्व संकलन प्रक्रिया प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।

स्थानीय सरकार सञ्चालनका लागि आन्तरिक श्रोत महत्वपूर्ण हुने भन्दै उहाँले करको दायरामा आउन नसकेका व्यावसायीहरुलाई करको दायरामा ल्याउन वडाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । घोराही उप महागरपालिका, बजेट तथा राजश्व व्यवस्थापन शाखाको आयोजनामा आइतवार घोराहीमा आयोजित राजश्व व्यवस्थापनमा काम गर्ने कर्मचारीहरुका लागि आयोजित क्षमता अभिबृद्धि कार्यक्रममा बोल्दै मेयर चौधरीले वडाहरुले निश्चित कार्ययोजना बनाएर वडाभित्र रहेका सवै व्यावसायीलाई दर्ता प्रक्रियामा ल्याउने र घरबाटो सिफारिस गर्दा बाटो भए नभएको एकिन गरेर मात्र गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा बोल्दै उप मेयर हुमा कुमारी डिसीले नगरपालिकाभित्र कर संकलन प्रक्रियामा एकरुपता ल्याउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आर्थिक ऐनलाई टेकेर राजश्क संकलन गर्न निर्देशन दिनुभयो ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत ऋषीराम केसीले नगरपालिकाले राखेको राजश्व संकलनको लक्ष्य पुरा गर्न यसमा संलग्न कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा शाखा प्रमुख कृष्ण केसीले चालु आर्थिक बर्षको मंसिर १५ सम्म राजश्व संकलनका लागि राखेको लक्ष्य पुरा भएको भन्दै सवै कर्मचारीहरु सक्रिय भएर यसको बार्षिक लक्ष्य पुरा गर्न लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण शखाका अधिकृत छैटौ कुमार खड्काले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *