तुलसीपुर, १९ भदाै । ”जन जनमा माओबादी, मन मनमा माओबादी” भन्ने मुल नाराका साथ नेकपा (माओवादी केन्द्र) ले शुरू गरेकाे तीन महिने ‘जनतासँग माओबादी बिशेष रुपान्तरण अभियान अन्तर्गत दाङका विभिन्न स्थानहरूमा रचनात्मक कामहरू शुरू भएका छन् ।
यसैक्रममा तुलसीपुर उप-महानगरपालिका वडा नं १६ मा अबस्थित त्रिनेत्रेश्वर शिब मन्दिरको प्राङगनमा आज दोस्रो अभियान अन्तर्गत वडा कमिटीको आयोजनामा सरसफाई कार्यक्रम गरिएको छ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र) प्रदेश कमिटी सदस्य वडा अभियान संयोजक सुशीला शर्माले तीन महिने अभियानले साच्चिकै पार्टीलाई नयाँ उचाइमा पुग्ने विश्वास गर्नुभयाे । उहाँले माओवादी पार्टी जनताकाे विश्वासबाट जन्मिएकाे उल्लेख गर्दै सधै जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे । शर्माले आगामी २०८४ काे निर्वाचनमा माओवादी देशकै प्रमुख शक्ति बन्ने दावी गर्नुभयाे ।
सरसफाइ कार्यक्रममा निर्बाचित वडा अध्यक्ष तथा जिल्ला समन्वय समिति सदस्य शिबानन्द डांगी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य घनश्याम डाँगी, वडा पार्टी अध्यक्ष कमल नेपाली, वडा इन्चार्ज कृष्ण बस्नेत, मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष दोर्ण खत्री, थारु मुक्ति मोर्चाका नगर इन्चार्ज सन्दिप चौधरी, वडा कमिटी सह-सचिब भुप बहादुर वलि,कोषाध्यक्ष नबिना थापा लगायतका वडा पार्टीका नेता तथा कार्यकर्ता सहभागी हुनुभएको थियाे ।