रोल्पा, १० साउन । रोल्पा गङ्गादेवका किसान आलु खेतीबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् । फागुनमा आलु रोपेका किसानले जेठ अन्तिमबाटै खन्न र बेच्न थालेका हुन् ।
गङ्गादेवका हरेक घरमा थोरैमा ३० देखि धेरैमा सय क्वीन्टलसम्म आलु उत्पादन हुने गरेको छ । स्थानीयवासी पार्वती केसीले वर्षभरीका लागि घर खर्च चलाउन आलु खेतीकै भर रहेको जानकारी दिनुभयो ।
यस वर्षको जेठ यता मात्रै १९ हजार क्वीन्टल आलु बाहिरिएको छ भने पालिकामा ४० हजार क्वीन्टल आलु उत्पादन हुने अनुमान गरिएको छ । आलु बिक्रीबाट यस वर्ष १२ करोड आम्दानी हुने अपेक्षा गरिएको कृषि शाखा प्रमुख टिकाराम वलीले जानकारी दिनुभयो ।
तर नेपाल आलुमा आत्मनिर्भर बन्न सकेको छैन । केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ६ वर्षमा एक खर्बभन्दा धेरैको आलु आयात भएको छ ।
नेपालमा भारत, पेरु, बङ्गलादेश, चीन, दक्षिण कोरिया, नेदरल्याण्ड, सिंगापुर, बेलायत लगायतका देशबाट नेपालमा आलु आयात हुने गरेको छ । तर ग्रामिण क्षेत्रका किसानलाई व्यावसायिक आलु खेतिमा जोड्न सके आयात घटाउन सकिने सम्भावना देखिएको छ ।