घोराही । तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको स्कार्पियो खोलाले बगाएको छ ।
तुलसीपुर उपमहानगरपालिका– १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो । बिहान पौने ११ बजेतिर बाढीले झण्डै १५ मिटर बगाएको र उक्त स्कार्पियो निकालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्कार्पियोमा चालक मात्रै थिए र उनको उद्धार गरिएको बताइएको छ ।
यता जिल्लामा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरूमा पानीको बहाव ह्वात्तै बढेको छ भने वर्षाले ठाउँठाउँमा क्षति गरेको प्रहरीले जानकारी दिएको छ । बिहान आठ बजे राजपुर गाउँपालिका– ५ भुर्किहवामा रहेका १०/१२ वटा घर राप्ती नदि बढ्न डुबानमा परेका छन । उक्त स्थानमा प्रहरी चौकी चङ्गुवा बाट खटिएको प्रहरी टोलीले उद्धार गरेको र मानवीय तथा पशु चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
त्यस्तै राजपुर गाउँपालिका– २ बेला बस्ने ३२ वर्षकी की पुष्पा नेपालीको एक तले खरले छाएको कच्ची घरको एकातिरको भित्ता भत्किएको छ । बिहान १० बजे भित्ता भत्केपछि प्रहरी चौकी बेलाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई छिमेकी ग्वाते कुमालको घरमा सारेको जनाएको छ ।
उता लमही नगरपालिका– १ सुन्डबरी र वडा नम्बर ३ कान्तिपुरमा पनि घरहरू डुबानमा परेका छन । सुन्डबरी बस्ने वर्ष ७० का निम बहादुर सार्कीको फुसले छाएको १ तले कच्ची घरमा पानी पसेको र २ जनाको परिवारलाई उद्धार गरी छोरा छबे सार्कीको घरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
कान्तिपुर बस्ने बर्ष ३६ को राम बहादुर कुमालको १ तले पक्की घरमा पानी पसेको, निजको परिवार घरको छतमा रहेकोले उद्धारको काम भइरहेको बताइएको छ । सोही ठाउँका ४० बर्षका सुशिल कुमालको २ तले कच्ची घरमा पानी पसेको छ । त्यहाँ पानी पस्नु भन्दा पहिले नै उहाँको परिवार सुरक्षित ठाउँमा गएको प्रहरीले जानकारी दिएको छ । सोही ठाउँमा ६० वर्षका दयाराम चौधरीको २ तले कच्ची घरमा पानी पसेको छ । उहाँ पनि पानी पस्नु भन्दा पहिले नै सुरक्षित ठाउँमा गएको प्रहरीले जनाएको छ ।
बिहान देखि परेको अविरल वर्षाको कारण कालाकाटे देखि गोबरडिया हुँदै गढवा सम्मको हुलाकी सडक खण्डका विभिन्न स्थानमा बाढी आई लेदो खसेर बाटो अवरुद्ध भएको छ । उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट प्रहरी सहायक निरीक्षक नेत्रलाल केसी को कमान्डमा ३ जना र प्रहरी चौकी गोबरडिया बाट प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमाण्डमा ४ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता समेत रहनुभएका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।
त्यस्तै बेला–लमही सडक खण्डको राप्ती नदीमा आएको बाढी, बेला–गढवा सडक खण्ड चन्दनपुर खोलामा आएको बाढीले सडक अवरुद्ध भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक नवीन वलीको कमान्डमा ५ जनाको टोली खटिएको छ ।