प्रथम शहीद लखन थापाको १४६ औँ स्मृति दिवस

घोराही, २ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित गर्न सम्भव भएको बताउनुभएको छ । नेपालका प्रथम शहीद लखन थापाको १४६ औँ स्मृति दिवसको अवसरमा आज उहाँको पूर्णकदको शालिक अनावरण गरेपछि मुख्यमन्त्री गिरीले शहीदले देश र जनताको उत्थानका लागि निस्वार्थ ज्यानको बलिदानी दिएका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो ।

मगर सङ्घ दाङले आज आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री गिरीले तत्कालीन समयमा पनि मुलुकको राजनीतिक, सामाजिक परिवर्तनका लागि अन्याय अत्याचारका विरुद्ध बलिदानी दिएका लखन थापाको साहस नै परिवर्तनको प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो ।

उहाँले शहीद थापाको बलिदानीको प्रेरणाबाट पाठ सिक्दै जहानीयाँ राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्रजस्ता व्यवस्था फाल्दै जनताको शासन चल्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको व्यवस्था स्थापना गर्न सकिएको बताउनुभयो । लखन थापाले नेपाल र नेपाली जनताको न्याय र स्वतन्त्रताको लागि युगौँ युगसम्म सम्झन लायक काम गरेको हुँदा राज्यले सम्मान गरेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले शहीदको सपना पूरा गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । मुलुकको उन्नति र विकासका लागि जीउज्यानको बाजी लगाउने शहीदकै कारण अहिलेको व्यवस्था स्थापना भएको बताउँदै उहाँले शहीदलाई राज्यले साझा सम्पत्तिका रुपमा ग्रहण गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले देशको रक्षा गर्न अत्याचारका विरुद्ध लड्नुर्छ, सहनु हुँदैन भन्ने सन्देश दिनुहुने लखन थापाबाट अहिलेको समाजले शिक्षा लिन आवश्यक रहेको बताउनुभयो । उहाँले देखाएको बाटो र योगदानले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएको हुँदा देश र जनताको समृद्धिका लागि तीनवटै सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको प्रमुख चौधरीले स्पष्ट पार्नुभयो । उहाँले लखनपार्कले शहीदको सम्मान मात्रै होइन, घोराही बजारको सौन्दर्यताकायम गर्न मद्दत गरेको बताउनुभयो ।

विसं २०७४ मा पहिलोपटक निर्वाचित भएर आएपछि तत्कालीन त्रिभुवन पार्कलाई लखन पार्क बनाउने संस्थागत निर्णय गरी यसको विकासका लागि माथिल्लो तहमा पहल गरेको चौधरीले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले लखन थापा पार्क निर्माणका लागि माओवादीले विशेष पहल गरेको स्पष्ट पार्नुभयो । उहाँले शहीदहरु सबैको आर्दश भए पनि केही तत्वहरुले शहीदका शालिकहरु फोड्ने जस्ता गलत हर्कत गरिरहेको बताउनुभयो ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले शहीको उचित सम्मान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल सरकारबाट २०७२ असोज ३ गते थापालाई नेपालको प्रथम शहीद घोषणा गरिएको थियो । विसं २०७३ बाट नेपाल सरकारले हुलाक टिकट प्रकाशन भएको छ ।

सोही अवसरमा पार्क निर्माण समिति संयोजक खलु पुनमगरले लखन पार्कमा पूर्णकदको शालिक निर्माण तथा सजावटका लागि लुम्बिनी प्रदेश सरकारको पर्यटन कार्यालयबाट रु १५ लाख, घोराही उपमहानगरबाट रु दुई लाख, क्यारी निर्माणका लागि वडा नम्बर १४ बाट रु एक लाख ५० हजार तथा दर्जनौँ सहयोगी र दाताबाट सङ्कलन भएको रकमले काम गरिएको जानकारी गराउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष मुक्तबहादुर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव नरेन्द्र बुढामगरले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *