मुलुक समृद्धिका लागि प्राविधिक शिक्षा अपरिहार्य : सरकारका प्रवक्ता शर्मा

चेतना अनलाइन

घाेराही, २ फागुन । सञ्चार सूचना तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मुलुककाे समृद्धिका लागि प्राविधिक शिक्षा अपरिहार्य भएकाे बताउनुभएको छ ।

दाङकाे घाेराही स्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयकाे आज बिहान निरिक्षणमा पुग्नुभएका शर्माले प्राविधिक शिक्षाकाे प्रवर्द्धन गर्ने सरकारकाे नीति रहेकाे समेत बताउनुभयाे । ‘पुरानाे घाेकन्ते शिक्षा लिएर हाम्रा सन्ततिहरूले आफ्नाे र मुलुकको समृद्धिमा याेगदान दिन सक्दैनन्,’ उहाँले भन्नुभयाे, ‘अब हाम्रा सन्ततिहरूलाई पढ्दै र कमाउदै गर्ने वातावरण तयार गर्नुपर्छ ।’

मुलुककाे समग्र शिक्षा क्षेत्रककाे विकासका लागि नयाँ शिक्षा ऐन ल्याउन लागिएको शर्माले जानकारी दिनुभयाे । साे अवसरमा शर्माले शिक्षालय प्रांगणमा रहेकाे सहिद कृष्ण सेन इच्छुककाे शालिकमा माल्यार्पण समेत गर्नुभएको थियाे ।

शिक्षालयका प्रमुख अच्युतराज दाहालले कृष्ण सेन प्राविधिक शिक्षालयलाई प्रशिक्षक उत्पादन गर्ने थलाे बनाउने याेजना रहेकाे जानकारी दिनुभयाे । उहाँले शिक्षालयमा अझै कार्यक्रमहरू थप गर्ने साेंच रहेकाले थप जग्गा र भाैतिक पूर्वाधार आवश्यक भएकाे जानकारी दिनुभयाे ।

शिक्षालयका उपप्रमुख केशरमान बुढाथोकीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने आफूहरूकाे धेय रहेकाे स्पष्ट पार्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *