चेतना अनलाइन
घाेराही, २८ माघ । दाङको बंगलालचुली गाउँपालिका वडा नम्बर ५ मा रहेको सुधा माद्यामिक विद्यालय झल्नेटामा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय आउदै गर्दा अपरिचित व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति अखिल (कान्तिकारी) दाङले ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अध्यक्ष गिरबहादुर महराले विज्ञप्ति निकालेर घटनाको बिराेध गर्दै दाेषी उपर कडा कारबाहीको माग गर्नुभएको छ ।
ट्युसन पढ्न जाने कममा बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को जलजला भन्ने जंगलमा तीन जनाको समूहमा आएका मुखमा नकाव लगाएका अपरिचित पुरुषहरुले बंगलाचुली गाउँपालिका वडा नम्बर ६ गंदारी निवासी कक्षा ८ मा अध्ययन गर्ने १२ वर्षिया अन्जना पुनमगर, १३ वर्षिया रुची पुन, १५ वर्षिया सम्झना वली, १३ वर्षिया इसा वली, कक्षा ९ मा अध्ययन गर्ने १६ वर्षिया रेखा केसी र कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षिया वर्षा पुनलाई कुटपिट गरि घाइते बनाएका छन् ।
उक्त घटनाले विद्यार्थीहरुमा डर एवम् आम अभिभावकमा त्रास उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा विद्यार्थी माथि आक्रमण गर्ने आपराधिक गिरोहहरुलाई तुरुन्त कार्वाहीको दायरामा ल्याउनका लागि सम्बन्धित पक्ष सँग जोडदार माग गरिएकाे छ ।
साथै घाइते विद्यार्थीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन क्रान्तिकारीले सम्बन्धित पक्षलाई अनुरोध गरेकाे छ ।