गठबन्धले चुनाव जितिसक्याे, तीन रात जागा भएर बसाैं : शर्मा

चेतना अनलाइन

घाेराही, १ मंसिर । दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले गठबन्धनले चुनाव जितिसकेकाे बताउनुभएको छ ।

शर्माले अहिलेसम्म आउदा प्रदेशसभाका दुई सहित दाङ क्षेत्र नं २ मा गठबन्धन एमालेभन्दा निकै अगाडि रहेकाे बताउनुभयाे । गठबन्धनको पक्षमा जनलहर आइसकेकाे उल्लेख गर्दै उहाँले सबै विकल्प सकिए पछि एमाले आत्तिएर षड्यन्त्रमा लागेकाे आराेप लगाउनुभयाे ।

‘एमालेकाे अन्तिम विकल्प भनेकाे अब षड्यन्त्र गर्ने मात्रै हाे, एमाले अब जनतालाई पैसामा किन्न सकिन्छ कि भनेर अन्तिम तयारीमा छ,’ शर्माले भन्नुभयाे, ‘तीन रात सबै कार्यकर्ता र सचेत जनता रातभर जागाराम भएर बस्नुपर्ने छ ।’

एमालेले तीन रातमा गर्न सक्ने षड्यन्त्रलाई चिर्न गठबन्धनले काउन्टर प्लान बनाइसकेकाे उहाँको भनाइ छ । ‘एमालेले अन्तिम तीन रात जुन तरिकाले मतदातालाई गलत ढंगले प्रभावित गराउने षडयन्त्र बुनेकाे छ, त्यसलाई राेक्न हामीले विशेष याेजना बनाइसकेका छाैं,’ शर्माले भन्नुभयाे, ‘सबै कार्यकर्ताहरू पाँच वर्ष र समग्र देशकाे हितका लागि याे तीन रात २४ घण्टा खट्नुपर्ने छ ।’

शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनुभएको छ ।

केपी ओली समूहकाे गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएकाे उहाँकाे भनाई छ । “अहिले एमाले भित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएकाे छ,” शर्माले भन्नुभयाे, “केपी गुटले चुनाव जितेकाे खण्डमा एमाले भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ,आफ्नाे राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन् ।”

निर्वाचनमा एमालेले प्रत्यक्षमा ८/१० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उहाँले ठाेकुवा गर्नुभयाे । पूर्वमन्त्री शर्माले दाङकाे समृद्धिका लागि गठबन्धनसँग स्पष्ट याेजना भएकाे समेत बताउनुभयाे ।

प्रदेशसभा दाङ २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले लाेकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण भएकाे बताउनुभयाे । उहाँले मंसिर ४ पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने दावी गर्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *