निर्वाचनको पूर्वसन्ध्यामा घाेराहीमा एमालेका ५१ जना युवा माओवादी प्रवेश

चेतना अनलाइन

घाेराही, ३० कार्तिक । मंसिर ४ काे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे पूर्वसन्ध्यामा आज घाेराहीमा ५१ जना युवा एमाले छाडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

चर्चित र्‍यापर विजय वलीकाे नेतृत्वमा ५१ जना युवा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा र दाङ जिल्ला इञ्चार्ज एवम् पाेलिटब्युराे सदस्य निर्मल आचार्यले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियाे ।

कार्यक्रममा बाेल्दै महराले दाङ निर्वाचन क्षेत्र नं २ मा रेखा शर्मालाई मतदान गर्न सबै मतदाताहरूलाई अपिल समेत गर्नुभएकाे छ । ‘युवा नेताहरूलाई अवसर दिनुपर्छ भनेर मैले प्रत्यक्ष र समानुपातिक उम्मेद्वार भएन,’ उहाँले भन्नुभयाे, ‘मैले २०४८ साल देखि पटकपटक संसदीय र राजकीय भूमिकामा रहेर काम गरेकाे छ, त्याे अनुभवकाे आधारमा दाङकाे विकासमा अब अभिभावकीय भूमिकामा रहेर काम गर्ने छु ।’

रेखा शर्माले निर्वाचन जितिसकेपछि मन्त्री भएर दाङकाे समग्र विकासमा भूमिका निर्वाह गर्ने महराले विश्वास व्यक्त गर्नुभयाे । दाङ प्रदेश २(१) र २(२) राजु खनाल र प्रचण्ड विक्रम न्याैपाने गुन्टुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयाे ।

दाङमा प्रतिनिधिसभाका तीन ओटा र प्रदेशसभाका ६ ओटा गरेर ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धन जितकाे नजिक पुगिसकेको बताउनुभयाे । दाङकाे विकास निर्माणमा साझा प्रतिबद्धता आवश्यक भएकाे महराकाे भनाइ छ ।

माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्यले जिल्लाका सबै निर्वाचन क्षेत्रमा गठबन्धनले जित हासिल गर्ने बताउनुभयाे । उहाँले मंसिर ४ गते पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने बताउनुभयाे ।

कार्यक्रमकाे सञ्चालन अखिल क्रान्तिकारी दाङका जिल्ला संयाेजक गिरबहादुर महराले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *