महरा बिहानैदेखि घरदैलोमा, दाङमा गठबन्धन विजयकाे नजिक पुगिसक्याे : महरा

चेतना अनलाइन

घाेराही, २३ कार्तिक । पूर्वसभामुख एवम् नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ जिल्लाका सबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयकाे नजिक पुगिसकेको बताउनुभएको छ ।

बुधवार घरदैलोमा निस्कनुभएका महराले प्रतिनिधिसभाका तीन ओटै र प्रदेशसभाका ६ ओटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवार भन्दा निकै अघि भएकाे बताउनुभयाे । उहाँले दाङ निर्वाचन क्षेत्र नं २ मा शंकर पाेख्रेल भन्दा रेखा शर्माकाे माहाेल निकै राम्राे भएकाे जानकारी दिनुभयाे ।

‘मैले एमालेका धेरै नेता कार्यकर्ताहरूलाई पनि भेटेकाे छु, उहाँहरू पनि अहिले गठबन्धनको पक्षमा देखिनुभएकाे छ,’ महराले भन्नुभयाे, ‘गठबन्धनका दलहरूबीच पनि राम्रो एकता देखिएकाे छ ।’

मंसिर ४ गते पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने उल्लेख गर्दै महराले गठबन्धनले देशकाे समृद्धिकाे नेतृत्व गर्ने धारणा व्यक्त गर्नुभयाे । ‘गत स्थानीय तहकाे निर्वाचनमा याे निर्वाचन क्षेत्रका २७ वटा वडाकाे मत विश्लेषण गर्ने हाे भने गठबन्धन निकै अगाडि छ,’ उहाँले भन्नुभयाे, ‘स्थानीय तहकाे निर्वाचनकाे बेला भन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएकाे छ ।’

एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएकाे उल्लेख गर्दै महराले त्याे मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गर्नुभयाे । ‘एमालेका साथीहरूले पनि मत हाल्ने देखिएकाे छ,’ उहाँले भन्नुभयाे, ‘प्रतिगमन बिरूद्घकाे गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ ।’

आफू प्रतिनिधिसभाकाे प्रत्यक्ष तथा समानुपातिककाे कुनै पनि उम्मेदवार नभएकाे उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेकाे बताउनुभयो । ‘मैले लामाे समय संसदीय र राजकीय भुमिका रहेर काम गरेकाे छु,’ उहाँले भन्नुभयाे, ‘अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेकाे हुँ ।’

मुलुककाे समृद्धि र प्रतिगमनका बिरूद्घ गठबन्धन भएकाे धारणा व्यक्त गर्दै महराले आम मतदाताले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गर्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *