दाङको समृद्धिका लागि गठबन्धनको विजय अपरिहार्य : शर्मा

चेतना अनलाइन
घोराही, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माले दाङ जिल्लाको समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूको विजय अपरिहार्य भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल, दाङको विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै शर्माले दाङका संघतर्फका ३ ओटा र प्रदेशका ६ ओटा गरेर नौ वटै सिटमा गठबन्धनका उम्मेदवारहरूले विजयी हासिल गर्ने दावी गर्नुभयो ।

‘जनमतका हिसाबले दाङका सबै क्षेत्रमा गठबन्धन फराकिलो मतान्तरले विजय हुने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका प्राप्त उपलब्धिको रक्षा गर्नका लागि आम जनसमुदायले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनुहुने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

आगामी मंसिर ४ गतेको निर्वाचनले दाङबाट पनि प्रतिगमन परास्त हुने शर्माले ठोकुवा गर्नुभयो । शर्मा गठबन्धन र माओवादीले औपचारिक निर्णय गर्न बाँकी रहेपनि दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट निर्वाचन लड्दै हुनुहुन्छ ।

नेपालको हरेक परिवर्तनमा नेपाली कांग्रेस र कम्युनिस्टहरूबीच सहकार्य हुँदै आएको उल्लेख गर्दै शर्माले गणतन्त्रको रक्षाका लागि अहिले गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभयो । ‘हिजो गिरिजाप्रसाद कोइराला र प्रचण्डको सहकार्य नभएको भए नेपालमा यति चाँडै गणतन्त्र आउने थिएन,’ उहाँले भन्नुभयो, ‘अब पनि प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समृद्धिका लागि नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी सहितका परिवर्तन पक्षधर दलहरूबीच सहकार्य हुन जरुरी छ ।’

केपी ओली र उनको समूहको सर्वसत्तावादी चरित्रका कारण एमालेभित्रका परिवर्तन पक्षधर इमानदार नेता कार्यकर्ताहरू पनि असन्तुष्ट भइरहेको शर्माको भनाई छ । ‘एमाले भित्र पनि इमानदार नेता कार्यकर्ताहरूलाई पन्छाउँदै अवसरवादीहरूलाई टिकट र अवसर दिने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘ती इमानदार नेता तथा कार्यकर्ताहरूले पनि हामीहरूलाई सहयोग गर्नुहुने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

बैठकमा बोल्दै माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवम् दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य ‘विमल’ ले प्रतिगमनका योजनाकार केपी ओली र उनको पार्टी एमालेसँग अहिले कुनै एजेण्डा नभएको बताउनुभयो । उहाँले मंसिर ४ पछि मुलुकमा एमालेको भूमिका निकै कमजोर हुने दावी गर्नुभयो । ‘हाम्रो संघर्ष र बलिदानबाट मुलुकमा प्राप्त भएको उपलब्धि मास्न केपी ओलीजीहरु लाग्नुभएको छ,’ आचार्यले भने, ‘उहाँहरूलाई जनताले अधिकार प्राप्त गरेको र मुलुकमा परिवर्तन भएको कत्ति पनि मन परेको छैन ।’

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज अजयदीप शर्माले अहिलेको प्राप्त उपलब्धि रक्षाका लागि सञ्चार जगतबाट खबरदारी गर्न आवश्यक भएको बताउनुभयो । ‘लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा परिवर्तन पक्षधरहरु र परिवर्तन विरोधीहरुबीच छुट्टाछुट्टै गठबन्धन भइरहेको छ, हामीले परिवर्तनकारी शक्तिहरुलाई नै साथ दिनुपर्छ ।’

प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्र केसी, माओवादी केन्द्र विज्ञान तथा प्रविधि विभागका केन्द्रीय सदस्य शैलेन्द्र गिरी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी, प्रेस सेन्टर दाङका संस्थापक अध्यक्ष पुरन शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष दामोदर बस्नेत राकेशको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सञ्चालन सचिव जनक नेपालीले गर्नुभएको थियो । कार्यक्रममा सबै पालिकाका अध्यक्षहरुले रिपोर्ट पेस गर्नुभएको थियो ।

बैठकले आगामी मंसिर ४ गते हुन थालेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा प्रेस सेन्टरको तर्फबाट तीन ओटा निर्वाचन क्षेत्रमा नै केन्द्रित भएर प्रचारप्रसारको काम गर्ने निर्णय गरेको छ । निर्वाचन क्षेत्रको भुगोलमा पर्ने केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला समिति र पालिका समितिका पदाधिकारी तथा सदस्यहरु रहने गरी प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *