व्यवस्था बचाउन र जनताकाे अवस्था सुधार गर्न गठबन्धन गरिएकाे हाे : शर्मा

व्यवस्था बचाउन र जनताकाे अवस्था सुधार गर्न गठबन्धन गरिएकाे हाे : शर्मा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले हजारौं जनताले रगत पसिना बगाएर ल्याएको ब्यवस्था बचाउन र ब्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न गठबनधन आवश्यक परेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र दाङ २(१)को प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा स्थायित्व र दिगो विकासका लागि एमालेसँग एकता गरेर नेकपा बनाएको भए पनि एमालेले एकताको मर्मबोध नगरी बलिदानबाट प्राप्त उपलब्धिमाथि हमला गरेकाले एकता दिगो हुन नसकेको बताउनुभयो ।

‘हामीले निकै ठूलो सपनाका साथ एमालेसँग एकता गरेका थियौं तर एमालेको नेतृत्वले हाम्रो बलमा बहुमत प्राप्त गरेर हामीले ल्याएका अधिकारमाथि हमला गर्न थालेपछि एकता भंग भएको हो’– उहाँले भन्नुभयो– ‘यसबीचमा एमालेभन्दा लोकतन्त्रको सवालमा कांग्रेस नै इमान्दार देखियो । जसरी गिरिजाबाबु र प्रचण्ड मिलेर देशलाई अग्रगमनको बाटोमा अघि बढाउनुभएको थियो, हामीले त्यसकै जगमा टेकेर परिवर्तनलाई संस्थागत गर्न कांग्रेससँग सहकार्य गरेका हौं ।’

अहिले को सांसद बन्ने, को मन्त्री बन्ने र कसले जित्ने वा हार्नेभन्दा पनि संविधान बचाउने, लोकतन्त्र बचाउने मुख्य सवाल भएकाले कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनमार्फत आफूहरु अघि बढिरहेको उहाँले बताउनुभयो । आगामी चुनाव पनि लोकतन्त्र रक्षाकै आधारस्तम्भ रहेको उल्लेख गर्दै उहाँले त्यसमा सबै लोकतान्त्रिक गणतन्त्र पक्षहरु एक हुनुपर्ने बताउनुभयो ।

पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज निर्मल आचार्यले दाङ क्षेत्र नम्बर १ को चुनावी अवस्था विश्लेषण गर्दै एमालेभन्दा गठबन्धन झण्डै बीस हजार मतले अगाडि रहेको बताउनुभयो । गत स्थानीय निर्वाचनमा बंगलाचुलीमा गठबन्धनले जितेको, घोराहीमा थोरै मतले हारे पनि १० हजार बढी मत बदर भएको, तुलसीपुरका वडाहरुमा पनि गठबन्धन नै अगाडि रहेको बताउँदै उहाँले अब बदर मत शून्यमा झर्ने र गठबन्धन पनि पहिलेको भन्दा राम्रो भएकाले बीस हजार भन्दा बढी मतले विजय प्राप्त गर्ने बताउनुभयो ।

पछिल्लो समय माओवादीका केही कार्यकर्ता एमालेमा गएको सन्दर्भ खुलाउँदै आफूहरुले पनि एमालेभित्रको अन्तर्विरोधमा खेलिरहेको र माओवादीबाट एमालेमा गएको भन्दा एमालेबाट कम्तीमा तीन गुणा मत गठबन्धनले प्राप्त गर्ने बताउनुभयो । ‘स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत र बदर मतको मात्रै विश्लेषण हामी बीस हजार मतले अगाडि छौं’– उहाँले भन्नुभयो– ‘यो क्षेत्रमा एमालेले अघि सारेका उम्मेदवारहरुको विगतको स्थिति र उनीहरुभित्रको अन्तर्विरोध हेर्दा एमालेबाटै ठूलो मत हामीले पाउने निश्चित छ ।’ अर्का पोलिटब्यूरो सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले गत स्थानीय निर्वाचनबाट पाठ सिकेर आफूहरुले अहिलेदेखि नै चुनावी परिचालनको नयाँ रणनीति तयार पारिसकेको बताउनुभयो । आफूहरुले यही नीतिकै आधारमा विगतका चुनाव जितेको उल्लेख गदैृ उहाँले सिधै जनताको बीचमा गएर गठबन्धनको सम्पूर्ण शक्ति चुनावमा परिचालन हुने बताउनुभयो ।

पूर्वराज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाकार शुष्मा शर्मा घिमिरेले दाङ २ मा रेखा शर्मालाई अघि सारेर गठबन्धनले नेपालमै नयाँ नमूना कायम गरेको भन्दै महिला आन्दोलनको हिसाबले यो अभूतपूर्व सफलता भएको बताउनुभयो । ‘हामीले सँधै महिला समानताको कुरा गर्यौं तर पुरुषसँगै प्रतिष्पर्धा गरेर महिलालाई विजयी बनाउने यो नयाँ अवसर हो’– उहाँले भन्नुभयो– ‘त्यसमा पनि वर्गीय मुक्तिमार्फत महिला मुक्तिका लागि आफ्नो जीवन समर्पण गर्ने रेखाजस्तो महिलाले यो अवसर पाउनु निकै महत्वपूर्ण सवाल हो ।’

माओवादी केन्द्र दाङ २(१)का संयोजक फणिन्द्रराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य दामा शर्मा, जिल्ला संयोजक तुलसीराम पुनलगायतले सम्बोधन गरेको कार्यक्रम सञ्चालन सचिव रमा पुनले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *