माओवादी दाङमा जनवर्गीय संगठनको संयुक्त बैठक

चेतना अनलाइन
घोराही, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङले सम्पूर्ण जनवर्गीय संगठन तथा मोर्चा सङ्गठनहरूको संयुक्त बैठक गरेको छ ।
बैठकमा सबै जनसंगठन तथा मोर्चा सङ्गठनका जिल्ला अध्यक्षहरूले रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा १७ ओटा जनसंगठन तथा मोर्चा सङ्गठनका दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य तथा जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकले असोजको दोस्रो साता भित्र सबै संगठनको छुट्टा छुट्टै बैठक गर्ने निर्णय गरेको छ । त्यसैगरी आगामी निर्वाचनमा संयुक्त तथा छुट्टाछुट्टै टिम बनाएर प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै पार्टी पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज निर्मल आचार्य विमलले पछिल्लो समय माओवादी दाङको संगठन चुस्त बन्दै गएको बताउनुभयो । उहाँले माओवादीप्रति जनताको विश्वास, भरोसा र माया कायम रहेकाले त्यसलाई नेताहरूले प्रेरणको रुपमा लिएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
‘लामो संघर्ष पश्चात प्राप्त भएका गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका प्राप्त उपलब्धि रक्षका लागि माओवादीको भूमिका अँझ सशक्त भएर आएको छ,’ उहाँले भन्नुभयो, ‘केपी ओली ओलीको नेतृत्वमा राजावादी लगायत परिवर्तन विरोधी शक्तिहरू एकातर्फ गठबन्धन गरेका छन्, भने माओवादीको एजेण्डामा नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरू एउटा गठबन्धनमा लागेका छन् ।’
आगामी निर्वाचन मार्फत ओली प्रवृत्तिको प्रतिगामी शक्तिहरूलाई जनताले सजाय दिने आचार्यले बताउनुभयो ।
अर्का पोलिटब्युरो सदस्य हेमराज शर्मा डायमण्डले शान्तिप्रक्रिया शुरु भए पछि बिकेन्द्रीत जस्तो बन्न खोजेको माओवादी आन्दोलन पुनः केन्द्रित हुन थालेको बताउनुभयो । उहाँले माओवादी कमजोर हुँदा जनताका अधिकारहरू खोसिने भएकाले आम जनताले माओवादीबाटै आफ्नो भविष्य खोजिरहेको बताउनुभयो ।
‘माओवादी बिचारमा आस्था राख्ने आम जनता तथा कार्यकर्ताहरूलाई सङ्गठित गरेर ठोस कार्यक्रम दिन जरुरी छ,’ शर्माले भन्नुभयो, ‘माओवादी फेरी पहिलेकै जस्तै शक्तिशाली पार्टी बन्ने दिशामा अघि बढिरहेको छ ।’
माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले अब सबै कार्यकर्ताहरुले अरुलाई दोष दिने भन्दा पनि आँफैले निर्मम आत्मसमिक्षा गरेर अघि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारीले पार्टीले किसान र मजदूर वर्गको एजेण्डालाई उठाइराख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले पार्टीका नेता तथा कार्यकताहरु आलोचनाबाट डराउन नहुने धारणा व्यक्त गर्दै प्रशंसाले भन्दा आलोचनाले पार्टी तथा नेतृत्वलाई सहि दिशामा लैजाने बिचार व्यक्त गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *