गणतन्त्रको रक्षा गर्न बाम–लोकतान्त्रिक गठबन्धन : पोलिटव्यूरो सदस्य आचार्य

चेतना अनलाइन

घोराही, १४ साउन । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य निर्मल आचार्यले गणतन्त्रको रक्षा गर्न बाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताउनुभएको छ ।

अखिल क्रान्तिकारी दाङले शनिवार घोराहीमा आयोजना गरेको विशेष भेलालाई संवोधन गर्दै उहाँले केपी ओलीले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोनबाट प्राप्त भएको गणतन्त्र, संघीयता र धर्मनिरपक्षतालाई समाप्त गर्न खोजेपछि त्यसको रक्षाका लागि यो गठबन्धन गर्नुपरेको बताउनुभएको हो । ‘अहिले पनि केपी ओली प्रवृत्तिका तत्वहरुले प्रतिगमनका लागि शिर उठाउन सक्ने खतरा देखिएको छ,’ आचार्यले भन्नुभयो, ‘अहिले परिवर्तनका पक्षधहरुको एउटा गठबन्धन र परिवर्तनका बिरोधीहरुको अर्को गठबन्धन निर्माण भएको छ ।’

माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहनुभएका आचार्यले आगामी निर्वाचन मार्फत प्रतिगामी शक्तिहरु पराजित भएर जाने बताउनुभयो । मुलुकको परिवर्तनका लागि अखिल क्रान्तिकारीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले विद्यार्थीको हकहित तथा मुलुकको राष्ट्रिय स्वाधिनता तथा परिवर्तनको रक्षा गर्न युवा विद्यार्थीहरु अँझै सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष प्रविणा अधिकारीले विद्यार्थीहरुको आन्दोलनलाई अँझ सशक्त पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समाजमा रहेको विकृति तथा विसंगति अन्त्यका लागि विद्यार्थीहरुले जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले पछिल्लो समय युवा तथा किशोरकिशोरीहरुमा कुलतमा फस्ने समस्या देखापरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न अखिल क्रान्तिकारीले विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पार्टी तथा आन्दोलनको रक्षाका लागि युवा विद्यार्थीहरुको भूमिका निकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले नेपालको वर्गसंघर्ष तथा विभिन्न आन्दोलनमा विद्यार्थीहरुको भूमिका निकै उल्लेखनीय भएको बताउँदै आगामी दिनमा आन्दोलनलाई थप रचनात्मक र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशका प्रमुख सचिव राजेन्द्र विष्ट, प्रदेश उपाध्यक्ष भीमराज खरेल, संगठनका केन्द्रीय सदस्य जंग रोका र प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संगठनका जिल्ला अध्यक्ष कल्याण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गोविन्द मल्लले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष गिरबहादुर महराले स्वागत गर्नुभएको थियो । प्रदेशको सर्कुलर अर्का उपाध्यक्ष डिभाइड शर्माले वाचन गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *