घोराही, ९ साउन । दाङका २ लाख किसान कृषि तथा पशुपन्छी बीमामा आबद्ध भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म दाङमा ४३ अर्ब ३० करोड ३९ लाख ३९ हजार रुपैयाँको कृषि तथा पशुपन्छी बीमा गरिएको छ ।
यस अवधिमा करिव २ लाख किसान आवद्ध भएको बीमा समितिको भनाइ छ । कृषि तथा पशुपन्छी बीमा गर्ने किसानको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बीमा समितिले जनाएको छ ।
सरकारले कृषि तथा पशुपन्छी बीमा सुरु गरेको आर्थिक वर्ष २०७०/०७१ मा ६२ करोड ५४ लाख ४ हजार ६ सय १३ बराबरीको बीमाङ्क कायम भएको थियो ।
कृषि तथा पशुपन्छी बीमामा लाग्ने शुल्क मध्ये ८० प्रतिशत प्रिमियम सरकारले अनुदानमा सहयोग गर्दै आएको छ ।
गरिएका बीमामध्ये ९५ प्रतिशत अर्थात ४० अर्ब ३९ करोडभन्दा बढी पशुपन्छी र २ अर्ब ९१ करोड कृषि बीमा रहेको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताउनुभयो ।
बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ जारी गर्दा चार वटा बीमालेख जारी गरि बीमाको सुरुवात गरिएको थियो ।