पार्टी नेता तथा कार्यकर्तालाई महराको निर्देशन : केन्द्र मुखी होइन जनतामुखी हुनुहोस् 

चेतना अनलाइन

घोराही, ३० असार । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी नेता तथा कार्यकर्तालाई केन्द्रमुखी नभएर जनमुखी हुन आग्रह गर्नुभएको छ ।

पार्टीका अगुवा नेता तथा कार्यकर्तासँग घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै महराले नेता तथा कार्यकर्ताले जनतालाई कहिल्यै पनि भुल्न नहुने बताउनुभएको हो । उहाँले आम पार्टी तथा कार्यकर्ता केन्द्र मुखी नभएर जनतामुखी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जनयुद्धको समयमा जनताको साथमै रहेका नेता कार्यकर्ताहरूको अहिले जनतासँग केही सम्बन्ध टाढिएको उहाँको भनाइ छ । आफूले विगतदेखि नै जनताको घरदैलोमा जाने काम निरन्तर जारी राखेको उहाँले जानकारी दिनुभयो । केन्द्रीय भूमिकाले पार्टी तथा अन्य कामका लागि केही समय काठमाडौँ बस्नु परे पनि बाँकी समयमा आफू जिल्लामा आएर जनताका समस्या सुन्ने गरेको उहाँले बताउनुभयो ।

जनताका समस्या समाधानका लागि सबै नेता तथा कार्यकर्ताले हरदम प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले जनताबाट आउने कुनैपनि समस्या समाधानका लागि सबै नेता तथा कार्यकर्ताहरूले उचित पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो  ।

जनताले ल्याएका समस्या समाधान गर्न नसकिएपनि त्यसको विकल्प भने प्रदान गर्न सकिने महराको भनाई थियो ।
मुलुकको परिवर्तनका लागि माओवादीले उल्लेखनीय योगदान पु¥याएको धारणा व्यक्त गर्दै महराले अब पनि मुलुकको आर्थिक समृद्धिका लागि माओवादीले नै काम गर्ने स्पष्ट पार्नुभयो । अहिले प्राप्त भएको उपलब्धि माओवादी कै सङ्घर्षको फलस्वरूप भएको उहाँको भनाइ थियो । अहिले दलाल तथा कमिसनखोरहरुका कारण जनताले समयमै रासायनिक मल पाउन नसकिरहेको महराले बताउनुभयो ।

‘हामीले जनतालाई सहजरूपमा मल आपूर्तिका लागि पहल गरिरहेका छौँ,’ महराले भन्नुभयो। विकास निर्माणको काममा पनि बिचौलियाहरूले निकै अप्ठेरो पारिरहेको महराको भनाई छ ।

तीन दिन पहिले दाङ आउनुभएका महराले जिल्लाका विभिन्न स्थानमा नेता, कार्यकर्ता तथा जनतासँग भेटघाट गरिरहनुभएको छ । गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका पूर्वसभामुख समेत रहनुभएका महरा प्रत्यक महिना दाङ आएर जनताको घरदैलोमा जाने गर्नुभएको छ ।

नेपालमा विदेशी प्रभुत्व बढ्दै गएको र स्वाधीनताको रक्षा क्रान्तिकारी शक्तिले मात्रै गर्नसक्ने भएकोले क्रान्तिकारी शक्ति बलियो हुनुपर्ने बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा धेरै ठाउँमा गठबन्धन बलियो नहुदा चुनाव हारिएको उल्लेख गर्दै उहाँले घोराही हारे पनि दाङका अन्य तीन पालिका जित्नु प्रगति भएको बताउनुभयो ।

घोराहीमा मात्रै १० हजार मत बदर हुनु दुस्खद भएको बताउदै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्नु कमजोरीको रुपमा रहेको बताउनुभयो ।

माओवादीप्रतिको जनमत बढिरहेको भन्दै उहाँले आगामी निर्वाचन जित्ने गरी योजना बनाइने जानकारी दिनुभयो ।

आफ्नो पार्टीको लक्ष्य समाजवाद भएकोले समाजवादी क्रान्तिबाट कोही पनि बिचलित हुन नहुने उहाँले बताउनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *