प्रतिष्ठानमा १० महिनामा १ हजार बढिले सामाजिक सेवा ईकाईमार्फत निशुल्क स्वास्थ्य सेवा लिए

चेतना अनलाइन

घोराही, २७ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले बितेको १० महिनामा सामाजिक सेवा ईकाईमार्फत एक हजार भन्दा बढी नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सामाजिक सेवा ईकाईले प्रदान गर्दै आएको सेवाको बारेमा जानकारी गराउन प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सामाजिक सेवा ईकाईका फोकल पर्सन दीपक केसीले साउनदेखि बैशाख मसान्तसम्म लक्षित समुदाय, जेष्ठ नागरिक र नवजात शिशु गरी १ हजार २ सय ११ जनाले निशुल्क सामाजिक सेवा लिएको बताउनुभयो । उहाँका अनुसार, साउनदेखि बैशाखसम्म लक्षित समुदायका २९४ जनाले सेवा लिँदा ६ लाख २३ हजार ८ सय ३५ खर्च भएको छ ।

यस्तै, सोही अवधिमा ९ सय १२ जना जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य सेवा लिँदा १० लाख ६७ हजार ८ सय ४५ खर्च भएको छ भने यही बैशाखबाट शुरु भएको आमा सुरक्षा कार्यक्रममार्फत ५ जना नवजात शिशुको उपचारमा ९० हजार ८ सय ९० रुपैयाँ खर्च भएको छ ।

सामाजिक सेवा ईकाईमा खासगरी, स्वास्थ्य बिमा नभएका, आर्थिक अवस्था कमजोर भएका, गरिव, असहाय, अपांग, जेष्ठ नागरिक, थुनुवा, स्वयंसेविका, प्राकृतिक प्रकोप, द्वन्द्वपीडितहरुले सेवा लिने गरेको सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनु भयो । यसमा संघ सरकारले बजेट व्यवस्थापन गर्दै आएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाको अध्यक्षता तथा अस्पताल निर्देशक प्रज्ञा बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक सेवा ईकाईकी सहजकर्ता शोभा पोख्रेलले प्रतिष्ठानबाट प्रदान गरिँदै आएको सामाजिक सेवामा लक्षित वर्गले अझै पनि पूर्ण रुपमा सेवा पाउन नसकेकाले यसको पहुँच बढाउन ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले राजनीतिक दवावमा सिफारिस लिएर सेवा लिने गरेको हुँदा लक्षित वर्गलाई मात्रै सिफारिस गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै, उहाँले सामाजिक सेवा ईकाईमा राखेर गरिव वर्गलाई सेवा दिन एकद्वार प्रणाली अपनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अस्पतालका रजिष्ट्रार प्रकाश थापाले राष्ट्रिय स्वास्थ्य नीति अनुसार पहिचान भएका लक्षित वर्गलाई निशुल्क स्वास्थ्य सेवा दिएको बताउनुभयो । प्रतिष्ठानबाट नागरिकलाई थप सेवा दिने गरी जेष्ठ नागरिकको हकमा १० बेडको अलग्गै सेवा कक्ष बनाउने तयारी भएको बताउनुभयो ।

उहाँले विपन्न वर्ग सामाजिक सेवाबाट छुट्न नहुने तर्फ विशेष ध्यान दिनुपर्ने बताउँदै वडा स्तरबाट हुने सिफारिस वास्तविक वर्गलाई मात्रै गरिदिन अपिल गर्नुभयो । कार्यक्रममा डा. रमेश कँडेलले स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बिमामा सबैलाई जोड्न जरुरी रहेको बताउनुभयो ।

नागरिकको स्वास्थ्य बिमामा अपेक्षित पहुँच पुग्न नसकेकाले हालको अवस्थामा सामाजिक सेवा आर्थिक रुपमा सक्षम नभएकाहरुलाई विशेष प्राथमिकता राख्नु पर्ने बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *