चेतना अनलाइन
घोराही, १३ जेठ । शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दाङको प्राङ्गणमा कृष्ण सेन इच्छुकको शालिक शिलान्यास गरिएको छ । शहीद कृष्ण सेन इच्छुकको २०औं स्मृति दिवसका अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले शालिकको शिलान्यास गर्नुभएको हो ।
शिक्षालयका प्रमुख अच्युतराज दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा चार मिटरको वर्गाकारमा करीव साढे ५ मिटर अग्लो अर्धकदको शालिक निर्माण गर्न थालिएको जानकारी दिइएको थियो । कार्यक्रम सञ्चालन गर्दै शिक्षालय उपप्रमुख केशरमान बुढाथोकीले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरिने शालिकको शिलान्यास उहाँकै २०औं स्मृति दिवसका अवसरमा गरिएको बताउनुभयो ।
शिक्षालय प्रमुख अच्युतराज दाहाल र प्रमुख अतिथि उदय जीएमले पूजापाठ तथा जगमा इँटा बसालेर शालिकको शिलान्यास गर्नुभएको थियो । करीव ९ लाखको लागतमा उक्त शालिक निर्माण गर्न थालिएको शिक्षालयले जनाएको छ ।
शालिक निर्माणको लागतको वारेमा शिक्षालयका लेखा अधिकृत खेमराज गौतमले जानकारी गराउनुभएको थियो ।