पाण्डव शर्मा
घोराही, २५ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीका कारण मुलुकमा परिवर्तन आएको बताउनुभएको छ ।
संयुक्त गठबन्धनले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक र धर्मनिरपेक्षता ल्याउन सबैभन्दा बढी योगदान माओवादीको भएको बताउनुभयो ।
उहाँले अहिले मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन भएको दावी गर्नुभयो । अर्को तर्फ संविधान र लोकतन्त्रलाई मास्ने शक्तिहरूबीच गठबन्धन भएको र त्यसको नेतृत्व केपी शर्मा ओलीले गरेको आरोप लगाउनुभयो ।
उहाँले सबै नेता तथा कार्यकर्ताहरूलाई गठबन्धनको मर्म अनुसार इमान्दारिपूर्वक मतदान गर्न अपिल गर्नुभयो । देउवाले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको समेत बताउनुभयो ।