लैङ्गिक हिंसा नियन्त्रण गर्न सामुदायिक सचेतना आवश्यक

चेतना अनलाइन

घोराही, ६ जेठ । लैङ्गिक हिंसा नियन्त्रणका लागि समुदायस्तरबाट सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं २ स्थित गंगा माध्यमिक विद्यालय, रामपुरमा आयोजित लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी अभिमुखिकीकरण कार्यक्रममा सहभागी वक्ताहरूले समाज परिवर्तनको आधार नै चेतना भएको बताएका हुन् ।

घोराही उपमहानगरपालिका वडा नं २ का कार्यबाहक वडा अध्यक्ष टोपबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा लैङ्गिक समानता, महिला तथा बालबालिकामाथि हुने हिंसा, कानुनी व्यवस्था तथा समुदायको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यबाहक वडा अध्यक्ष टोपबहादुर डाँगीले लैङ्गिक हिंसा सामाजिक विकृति भएको बताउँदै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले हिंसा नियन्त्रण केवल कानुनी विषय मात्र नभई सामाजिक जिम्मेवारी भएको उल्लेख गर्दै परिवार, विद्यालय र समुदायले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सचेत नागरिक निर्माण नै हिंसा न्यूनीकरणको प्रभावकारी उपाय भएको धारणा व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक गंगा गौतमले विद्यालय शिक्षाले विद्यार्थीमा सम्मान, समानता र मानवअधिकारप्रतिको चेतना विकास गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय केवल पढाइको केन्द्र नभई सामाजिक रूपान्तरणको आधार भएको उल्लेख गर्दै विद्यार्थीमार्फत समाजमा सकारात्मक सन्देश फैलाउन सकिने बताउनुभयो । प्रधानाध्यापक गौतमले किशोरकिशोरीलाई सही जानकारी, आत्मविश्वास र जिम्मेवारीबोध दिलाउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रशिक्षक विकिरण गौतमले लैङ्गिक हिंसाका विभिन्न स्वरूपबारे जानकारी गराउँदै मानसिक, शारीरिक, आर्थिक तथा सामाजिक हिंसालाई समयमै पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले हिंसा सहेर बस्नु समाधान नभएको उल्लेख गर्दै पीडितले निडर भएर आवाज उठाउनुपर्ने र समुदायले सहयोगी वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सचेत समाज निर्माण भएमा हिंसाका घटनामा उल्लेखनीय कमी आउन सक्छ ।

त्यसैगरी प्रशिक्षक दुर्गालाल केसीले लैङ्गिक समानता विकासको आधार भएको बताउनुभयो । उहाँले महिला र पुरुषबीच समान अवसर, सम्मान र सहभागिता सुनिश्चित भए मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो । केसीले लैङ्गिक हिंसा रोकथामका लागि कानुनी ज्ञान, आत्मरक्षा सीप तथा सामाजिक समर्थन प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता अभिमुखिकीकरण कार्यक्रमले व्यवहार परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । सहभागीहरूले विद्यालयस्तरबाट सुरु भएको चेतनाले परिवार हुँदै समाजसम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम सञ्चालन वडा नं २ का सचिव नारायण आचार्यले गर्नुभएको थियो । सञ्चालनका क्रममा उहाँले समुदायमा देखिने विभेद, हिंसा र असमानताको अन्त्यका लागि निरन्तर जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य बढाउँदै लैङ्गिक हिंसा नियन्त्रण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि आफूबाटै व्यवहार परिवर्तन सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । वक्ताहरूले सचेत समुदाय निर्माण भए मात्रै सुरक्षित, समान र न्यायपूर्ण समाज स्थापना सम्भव हुने निष्कर्ष निकालेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *