घोराहीमा ‘पिभिएस क्रियसन’ सञ्चालनमा, एउटै छानामुनि गिफ्ट तथा प्रिन्टिङ सेवाहरू

दाङ। घोराही उपमहानगरपालिकाको लाइन्मा नयाँ व्यवसायिक संस्था ‘पिभिएस क्रियसन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बिहीबार आयोजित विशेष कार्यक्रमकाबिच संस्थाको उद्घाटन गरिएको हो । शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय युवा पदम गिरी र उहाँकी पत्नि बसन्ती आचार्यले संयुक्त रूपमा सञ्चालन गर्नुभएको उक्त व्यवसायले घोराहीमा आधुनिक गिफ्ट तथा प्रिन्टिङ सेवाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं ‘घोराही बनाऔं अभियान’ का संयोजक सविन प्रियासनले रिबन काटेर संस्थाको उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, पत्रकार, सामाजिक अभियन्ता तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा व्यासन दाङका सचिव विमल भण्डारी, वरिष्ठ अध्यक्ष निर्मल न्यौपाने, वरिष्ठ पत्रकार शरद अधिकारी, गोविन्द खड्का लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सविन प्रियासनले घोराहीमा सिर्जनात्मक तथा सेवा केन्द्रित व्यवसायको विस्तार हुनु सकारात्मक संकेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध हुँदा युवाहरूलाई अवसर सिर्जना हुन्छ । विदेश जाने सोचभन्दा आफ्नै ठाउँमा रोजगारी र उद्यम सिर्जना गर्नु आजको आवश्यकता हो ।” उहाँले युवा उद्यमीहरूलाई नयाँ सोच, प्रविधि र सेवा गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।

सञ्चालक पदम गिरीले घोराहीमा आधुनिक डिजाइन, गिफ्ट तथा प्रिन्टिङ सेवाको अभाव महसुस भएपछि ‘पिभिएस क्रियसन’ स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले एउटै स्थानबाट विभिन्न सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेका छौं । ग्राहकले धेरै ठाउँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने हाम्रो प्रयास हो ।” उहाँका अनुसार व्यवसायलाई क्रमशः डिजिटल डिजाइन, ब्रान्डिङ तथा क्रियटिभ सेवाको केन्द्रका रूपमा विकास गरिने योजना रहेको छ ।

सञ्चालक बसन्ती आचार्यले ग्राहक सन्तुष्टि नै संस्थाको प्रमुख प्राथमिकता हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गुणस्तर, समयपालन र उचित मूल्यलाई विशेष ध्यान दिएका छौं । ग्राहकले विश्वास गर्ने सेवा केन्द्र बनाउने हाम्रो लक्ष्य हो ।” उहाँले स्थानीय उत्पादन, विद्यालय, संघसंस्था तथा व्यक्तिगत कार्यक्रमका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराइने जानकारी दिनुभयो ।

पिभिएस क्रियसनमा सम्पूर्ण किसिमका गिफ्ट आइटम, मेडल, ट्रफी, मायाको चिनो, खादा, व्याच, फोटो फ्रेमिङ तथा माला फ्रेमिङ, फ्लेक्स प्रिन्ट, कप प्रिन्ट, टी–शर्ट प्रिन्ट, फोटोकपी, लेमिनेशन, प्रमाण–पत्र निर्माण, भिजिटिङ कार्ड, आईडी कार्ड तथा ग्राफिक्स डिजाइन सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध रहेको सञ्चालकहरूले बताएका छन् । आधुनिक प्रविधिको प्रयोग गरी छिटो, आकर्षक तथा गुणस्तरीय सेवा प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय स्तरमा यस्ता सिर्जनात्मक व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरेका थिए । उनीहरूले युवाहरूले उद्यमशीलता रोज्नु समाजका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गरे ।

हाल घोराही क्षेत्रमा शैक्षिक संस्था, संघसंस्था, निजी व्यवसाय तथा व्यक्तिगत कार्यक्रमहरूको संख्या बढ्दै गइरहेको अवस्थामा यस्ता बहुउद्देश्यीय सेवा केन्द्रको आवश्यकता बढ्दै गएको देखिन्छ । ‘पिभिएस क्रियसन’ ले सो आवश्यकता पूरा गर्दै स्थानीय ग्राहकलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सञ्चालक गिरी दम्पतीले आगामी दिनमा सेवा विस्तार गर्दै डिजिटल प्रिन्टिङ, ब्रान्ड प्रमोशन तथा क्रियटिभ डिजाइन क्षेत्रमा नयाँ अवधारणा ल्याउने योजना रहेको बताएका छन् । स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको यो व्यवसायले घोराहीको व्यवसायिक वातावरणलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *