चेतना अनलाइन
घोराही, ३१ वैशाख । दाङको घोराहीस्थित दीपशिखा माध्यमिक विद्यालयले प्लस टु तहमा बजारको माग र समयानुकूल आवश्यकतालाई ध्यानमा राख्दै नयाँ विषयहरू थप गरेको छ । यसअघि विद्यार्थीको माग र बजारको आवश्यकता अनुसार होटल म्यानेजमेन्ट विषय थप गरिसकेको छ । विद्यालयले यसवर्षदेखि व्यवस्थापन तथा विज्ञान संकायअन्तर्गत विभिन्न नयाँ विकल्पहरू विस्तार गरेको हो ।
विद्यालयले व्यवस्थापनतर्फ अनिवार्यरूपमा अंग्रेजी, नेपाली र सामाजिक विषयसँगै विद्यार्थीले रुचि र करियरको आवश्यकताअनुसार अकाउन्टिङ वा हस्पिटालिटी म्यानेजमेन्ट, फाइनान्स वा मार्केटिङ वा टुरिजम एन्ड माउन्टेनियरिङ विषय अध्ययन गर्ने व्यवस्था मिलाएको हो । त्यसैगरी फाइनान्स वा कम्प्युटर वा होटल म्यानेजमेन्ट विषय छनोट गर्न पाउने व्यवस्था गरेको छ । यसले विद्यार्थीलाई एकल धारको पढाइबाट बाहिर निकाल्दै विविध करियर मार्गतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।
विद्यालय प्रशासनका अनुसार पछिल्लो समय विद्यार्थीहरू परम्परागत विषयभन्दा पनि रोजगारमुखी, प्राविधिक तथा व्यावहारिक सीपसँग जोडिएका विषयप्रति बढी आकर्षित भइरहेका छन् । सोही मागलाई सम्बोधन गर्दै विषय विस्तार गरिएको बताइएको छ ।
दीपशिखा कलेजका प्रमुख प्रतिराज बस्नेतले नयाँ विषय विस्तारलाई समयको आवश्यकता अनुसारको महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको रुचि र बजारको मागलाई ध्यानमा राखेर हामीले विषयहरू थप गरेका छौँ । अब विद्यार्थीले एउटै धारमा सीमित नभई आफ्नो करियरअनुसार उपयुक्त विषय चयन गर्न सक्नेछन् । यसले उनीहरूको भविष्यलाई अझ प्रतिस्पर्धी बनाउनेछ ।”
विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माले विषय विस्तारले संस्थागत गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरूले भन्नुभयो, “हामीले होटल म्यानेजमेन्टबाट सुरु गरेको व्यावहारिक शिक्षालाई अझ फराकिलो बनाउँदै व्यवस्थापन र विज्ञानका विविध शाखा समेटेका छौँ । यसले विद्यार्थीलाई मात्र होइन, विद्यालयको शैक्षिक पहिचानलाई पनि बलियो बनाउनेछ ।”
त्यस्तै, विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नयाँ विषय विकल्पले आफूहरूलाई ठूलो राहत दिएको बताएका छन् । उनीहरूका अनुसार पहिले सीमित विषयका कारण धेरै विद्यार्थी अन्य विद्यालय जान बाध्य हुने अवस्था थियो । एक विद्यार्थीले भन्नुभयो, “अब हामीलाई आफ्नै विद्यालयमै विभिन्न करियर विकल्प रोज्ने अवसर मिलेको छ । यसले पढाइप्रति अझ बढी प्रेरणा दिएको छ ।”
विद्यालय का प्रधानाध्यापक मनोज बुढाथोकीले आगामी दिनमा थप प्राविधिक तथा रोजगारमुखी कार्यक्रमहरू पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ । विशेषगरी पर्यटन, सूचना प्रविधि तथा व्यवस्थापनसँग सम्बन्धित सीपमूलक शिक्षामा जोड दिइने विद्यालयको योजना रहेको छ ।
स्थानीय स्तरमा पनि दीपशिखा माध्यमिक विद्यालयले गरेको यो पहललाई सकारात्मक रूपमा लिइएको छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई आधुनिक शिक्षा प्रणालीसँग जोड्न यस्तो कदम उपयोगी हुने धारणा व्यक्त गर्नुभएको छ ।
शिक्षा क्षेत्र परिवर्तन हुँदै गएको वर्तमान समयमा विद्यालयहरूले समयअनुकूल विषय र शिक्षण विधि अपनाउनु आवश्यक रहेको शिक्षाविद्हरूको भनाइ छ । यही सन्दर्भमा दीपशिखा माध्यमिक विद्यालयको यो कदमले स्थानीय शैक्षिक क्षेत्रमा नयाँ प्रतिस्पर्धा र अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
यसरी विद्यालयले गरेको विषय विस्तारले विद्यार्थीलाई मात्र होइन, समग्र क्षेत्रीय शैक्षिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
दाङको पुरानो निजी विद्यालयको रूपमा रहेको दीपशिखाले यस वर्ष र अघिल्लो वर्ष एसइइमा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । अबको लक्ष्य प्लस टु अर्थात कक्षा १२ मा पनि ४.०० जिपिए सहित शत प्रतिशत पास गराउनुका साथै संस्कारयुत्त शिक्षा रहेको विद्यालयले जनाएको छ ।

