चेतना अनलाइन
घोराही, १२ पुस । शिक्षा सम्बन्धी सरोकारवाला व्यक्तित्वहरूले व्यवहारिक र जीवन उपयोगी शिक्षा अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।
सिद्ध रत्ननाथ क्याम्पस घोराही १० नारायणपुर, दाङमा नव आगन्तुक विद्यार्थीहरूको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले हाम्रा विश्वविद्यालयहरूले औपचारिक पढाइ मात्र नभएर जीवन जिउने कला सिकाउनुपर्ने धारणा व्यक्त गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर डाँगीले यो क्याम्पस समुदायको अथक प्रयास र अग्रसरतामा स्थापना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा क्याम्पसको सफलताका लागि सबै सरोकारवाला निकायहरूले गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
होराही उपमहानगरपालिका वडा नम्बर १० का सदस्य मानबहादुर जिसीले क्याम्पसको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको बताउनुभयो ।
क्याम्पस प्रमुख दीपक लामिछानेले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी विश्वविद्यालयमा प्रस्तावना गरिएको जानकारी दिनुभयो । ” हामी सिद्ध रत्ननाथ क्याम्पसलाई बहुमुखी क्याम्पसको रुपमा स्थापित गर्न चाहन्छौं,’ लामिछानेले भन्नुभयो, ‘ क्याम्पसमा विद्यार्थीहरूको आकर्षण बढिरहेको छ, समाजबाट पनि हामीले राम्रो सहयोग पाइरहेका छौं ”
सहायक क्याम्पस प्रमुख दामोदर गिरीले विश्वविद्यालयबाट विद्यार्थीहरूले शिक्षा मात्र नभएर जीवन जिउने कला सिक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूले शिक्षासँगै संस्कार पनि सिक्नुपर्ने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष टोपबहादुर केसीले विगतमा आफूहरूको ठूलो मेहनत र परिश्रमले क्याम्पस स्थापना भएको बताउनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनकी सचिव ऋतु कुमारी कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सञ्चालक समिति सदस्य विष्णु रिजाल, उपप्राध्यापक द्वय मनोज बस्नेत र यशोदा गौतम, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मनोज केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति विशाल खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर डाँगी, क्याम्पस प्रमुख दीपक लामिछाने, सहायक क्याम्पस प्रमुख दामोदर गिरी लगायत अतिथिहरूले टीका लगाएर स्वागत गर्नुभएको थियो ।
सो अवसरमा स्नातक तह चौथो वर्ष पूरा गरेका विद्यार्थीहरूलाई टीका र मायाको चिनो प्रदान गरेर बिदाई गरिएको थियो । कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।








