घोराही, २० साउन । दाङको घोराही उप महानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका विषयमा कर्मचारी र जनप्रतिनिधिलाई तालिम दिन थालेको छ ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा वडा अध्यक्ष,स्थानीय पञ्जिकाधिकारी र अनलाईन मार्फत सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ताको काम गर्ने कर्मचारीहरुका लागि सो तालिम दिन थालिएको हो । सामाजिक सुरक्षा भत्ता नविकरण तथा दर्तालाई प्रभावकारी बनाउने,व्यक्तीगत घटना दर्ता गर्दा आइपर्ने कठिनाई समाधान गर्ने, अनलाइन प्रणालीबाट हुने घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता दर्ता कार्यमा रहेको समस्या पहिचान र समाधान गर्ने,वडा तथा शाखा कार्यालयबाट प्रदान गरिने अन्य सेवालाई सरल र प्रभावकारी बनाउने लगायतका उदेश्य सहित तालिमको आयोजना गरिएको शाखा प्रमुख दिवाकर योगीले जानकारी दिनुभयो ।
घोराही उप महानगरपालिका कार्यवाहक नगर प्रमुख हुमा डिसीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जनप्रतिनिध र कर्मचारीहरुको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउदै जनतालाई सरल र प्रभावकारी सेवा दिन राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिविच समन्वयात्मक तरिकाले काम गर्नुपर्ने बताउनुभयो । जनताको काम गर्दा प्रचलित ऐन नियमको परिधिमा रहदै सहज तरिकाले सेवा दिन सकेमा आम नागरिकको मन जित्न सकिने उहाँले बताउनुभयो ।
तालिममा दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले राष्ट्रिय परिचय पत्रलाई सामाजिक सुरक्षा भत्ता नविकरण गर्दा,बैंकमा खाता सञ्चालन गर्दा,राहदानी बनाउन वा अन्य सरकारी सेवा लिदा अनिवार्य बनाउन लगिएको भन्दै सवैलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुरोध गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट बनाएको राष्ट्रिय परिचयपत्र आइसकेको तरस्थानीय वडा तहमा शिविर मार्फत बनाएका राष्ट्रिय परिचयपत्र वितरणका लागि आइनसकेको जानकारी दिनुभयो । वडामा बनाइएको राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यक गृहकार्य भैरहेको समेत उहाँले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारी गरी करिव ६० जनाको सहभागिता रहेको तालिममा व्यक्तीगत घटनादर्ता,राष्ट्रिय परिचयपत्र,सामाजिक सुरक्षा भत्ता,नागरिकताका किसिम र प्राप्तीका आधार, भि.इ.आर.एस.पी. एमआइएस प्रणाली लगायतका विषयमा प्रशिक्षण दिइनेछ । चार दिन सम्म चल्ने तालिममा शाखा प्रमुख दिवाकर योगी,एमएसआई अपरेटर विराज अधिकारी लगायतले प्राविधि तथा कानुन व्यवस्थाका विषयमा प्रशिक्षण दिनुहुनेछ । प्रशासन महाशाखाका प्रमुख बासुदेव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको सहजिकरण शाखा प्रमुख दिवाकर योगीले गर्नुभएको थियो ।








