पाण्डव शर्मा
घोराही, ४ साउन । घोराही उपमहानगरपालिकाले गत वर्ष वृद्धि गरेको मालपोत करमा चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी उल्लेखनीय कटौती गरेको छ । आम नागरिकहरूबाट आएको सुझावलाई ध्यानमा राख्दै नगरपालिकाले स्थान र प्रकृति अनुसार करको दरमा अधिकतम ५० प्रतिशतसम्म कटौती गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीका अनुसार कर वृद्धिको विषयमा सार्वजनिक असन्तुष्टि बढेपछि नगरसभामा विस्तृत छलफल गरी उक्त करमा पुनरावलोकन गरिएको हो । उहाँले भन्नुभयो, “आम जनसमुदायबाट गुनासो आएकोले हामीले कर दरमा हेरफेर गरेका हौँ । नगरसभाबाट गतवर्ष वृद्धि गरिएको कर घटाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।” घोराही उपमहानगरपालिकाले स्थान र जग्गाको प्रकृति अनुसार गत वर्षको तुलनामा ७ देखि ५० प्रतिशतसम्म मालपोत कर घटाएको जानकारी नगर प्रमुखले दिनुभयो ।
नगर उपप्रमुख हुमा डिसीका अनुसार विगत सात वर्षसम्म मालपोत कर वृद्धि गरिएको थिएन । कर नबढाइँदा स्थानीय तहको राजस्व संकलनमा समस्या भइरहेको थियो । उहाँले भन्नुभयो, “हामीले यदि प्रत्येक वर्ष करमा सानो प्रतिशतले वृद्धि गर्दै आएको भए आज यत्रो आलोचना हुने थिएन । तर, गत वर्ष अचानक एकैपटक ग्रामीण क्षेत्रका कतिपय स्थानमा प्रतिकठ्ठा १० रुपैयाँबाट २० रुपैयाँ पुर्याइयो, जसका कारण यसलाई १०० प्रतिशत वृद्धि भनेर चर्चा गरियो ।”
उहाँका अनुसार हाल ती क्षेत्रमा आम जनगुनासो बढेपछि करको नयाँ दर पुनरावलोकन गरी प्रतिकठ्ठा १५ रुपैयाँ कायम गरिएको छ । उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “हिजो कर १० रुपैयाँबाट २० रुपैयाँ बनाएकोमा केहीले त्यसलाई १०० प्रतिशत वृद्धि भनेर प्रचार गरे । अहिले २० बाट १५ बनाउँदा त्यो ५ रूपैयाँ मात्र कटौती हो भनेर केहीले फेरि अनावश्यक रूपमा भ्रम फैलाइरहेका छन् । तर यथार्थमा हिजो १० रुपैयाँले कर बढेको थियो भने अहिले त्यही बढेको करबाट ५ रुपैयाँ घटाइएको हो ।”
नगरसभा बैठकमा वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछानेले सर्वप्रथम कर कटौतीको प्रस्ताव अघि सार्नुभएको थियाे । उहाँले भन्नुभयो, “वृद्धि गरिएको कर आम नागरिकहरूको आर्थिक अवस्था र कर तिर्ने क्षमताअनुसार उपयुक्त नभएको गुनासो आएकोले त्यो प्रस्ताव राखिएको हो । करको दर तोक्दा हामीले जनताको आवश्यकता, अवस्था र समय सापेक्ष सन्दर्भलाई ध्यान दिनुपर्छ भन्ने हाम्रो धारणा हो ।”
वडा अध्यक्ष लामिछाने को प्रस्तावलाई समर्थन जनाउँदै वडा नम्बर १ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेयले पनि सो प्रस्तावमा आफूले पूर्ण साथ दिएको बताउनुभयाे । उहाँले भन्नुभयो, “११ नम्बर वडा अध्यक्षले प्रस्ताव राखेपछि मैले तत्कालै त्यसको समर्थन गरेँ । नगरसभाका सम्पूर्ण सदस्यहरूले सर्वसम्मत रूपमा प्रस्तावलाई समर्थन जनाउनुभयो ।” अन्य उपमहानगरपालिकाको तुलनामा घोराहीमा मालपोतकर न्यून नै रहेको पाण्डेयको भनाइ छ ।
घोराही उपमहानगरपालिकाले गरेको यस कर समायोजनलाई जनताले सकारात्मक रूपमा लिएको बताइएको छ । विगतमा वृद्धि भएको कर नागरिकका लागि बोझ बनेको थियो भने अब भने धेरै हदसम्म सहज हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले आगामी दिनमा करको दर निर्धारण गर्दा जनताको जीवनस्तर, आम्दानी क्षमता र स्थानीय अवस्था अनुसार नै निर्णय गर्ने प्रतिबद्धता जनाएको छ । मालपोत करको समायोजनले स्थानीय तह र जनताबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ ।








