दाङ असार २७ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले अबको विद्यार्थीले समाज बुझ्नुपर्नेमा जोड दिँदै विद्यार्थीले जिते समाले जित्ने र हारे देशले हार्ने बताउनु भएको छ ।
घोराही–५ बसन्तपुर (सौडियार) हाइलाइटस इंगलिस बोर्डिङ स्कूलले आयोजना गरेको अबको विद्यार्थी कस्तो हुनुपर्छ भन्ने उत्प्रेरणा कार्यक्रममा बोल्दै प्रियासनले यस्तो बतानु भएको हो ।
‘अबको विद्यार्थी केवल प्रमाणपत्र बोकेको व्यक्ति होइन, ऊ समाजको प्रकाश स्तम्भ हो । उसको सोच, आचरण, क्षमता र योगदानले समाजको दिशा निर्धारण गर्छ । प्रतिस्पर्धात्मक युगमा केवल किताबी ज्ञान होइन, सिर्जनशीलता, बहुआयामिक सीप, नैतिक मूल्य, सामाजिक जिम्मेवारी, प्रविधि दक्षता र आत्मनिर्भर सोच आवश्यक छ । शिक्षा संस्थाहरूले पनि यस्तै विद्यार्थी उत्पादन गर्ने दिशामा पाठ्यक्रम, शिक्षण पद्धति, मूल्यांकन प्रणाली र वातावरण परिमार्जन गर्नुपर्छ । अभिभावक, शिक्षक, समाज र राज्य सबैले अबको विद्यार्थीलाई समृद्ध नागरिक बनाउने साझा जिम्मेवारी स्वीकार गर्नुपर्छ । किनभने अबको विद्यार्थी भनेको केवल पाठशालाको विद्यार्थी होइन, ऊ नै भविष्यको समाज होरु। उसले जिते समाज जित्छ, उसले हा¥यो भने देश हार्छ । त्यसैले अबको विद्यार्थी जिम्मेवार, सशक्त, सर्जनशील र समर्पित हुनैपर्छ’,–प्रियासनले कार्यक्रममा विषयगत कार्यपत्र प्रस्तुत गर्दै थप्नुभयो,–‘अबको विद्यार्थी भनेको केवल परीक्षा पास गर्ने होइन, समस्या समाधान गर्ने, विचार सिर्जना गर्ने, उद्यम गर्ने, नेतृत्व गर्ने र समाज परिवर्तन गर्ने व्यक्तित्व हो । उसमा ज्ञान, सीप, चरित्र, दृष्टि, मूल्य र साहसको संयोजन हुनुपर्छ । खेल, आविष्कार, नवीन योजना, नेतृत्व, प्रविधि र संस्कारको सन्तुलनयुक्त विद्यार्थी नै भविष्यको देश निर्माणको आधार हो । अब शिक्षा भन्नाले पाठ्यपुस्तकको ज्ञानमात्र होइन, सम्पूर्ण जीवन बाँच्ने, सोच्ने र निर्माण गर्ने यात्रा हो । त्यसैले अबको विद्यार्थी बहुआयामिक, सशक्त र जिम्मेवार नागरिकको रूपमा विकसित हुनु आवश्यक छ ।’
कार्यक्रममा बोल्दै प्रियासनले भन्नुभयो–‘समाज निरन्तर परिवर्तनशील छ । विज्ञान, प्रविधि र सञ्चारका क्षेत्रमा आएको क्रान्तिकारी परिवर्तनले शिक्षा प्रणालीमा समेत आमूल परिवर्तन ल्याएको छ । अबको विद्यार्थीले मात्र पाठ्यपुस्तक पढेर, परीक्षा दिएर र प्रमाणपत्र प्राप्त गरेर मात्रै जीवनको लक्ष्य प्राप्त गर्न सक्दैन । ज्ञानको परिधि फराकिलो भएको छ । विद्यार्थीले समाज, राष्ट्र
र विश्व परिवेशलाई बुझ्ने क्षमताको विकास गर्दै समृद्धि, सदाचार र सिर्जनशीलताको बाटो समात्नुपर्ने आवश्यकताले अबको विद्यार्थी कस्तो हुनुपर्छ भन्ने प्रश्न उठेको हो ।’
समृद्ध घोराही निर्माणका लागि शिक्षा क्षेत्रको सहभागिता अनिवार्य भएको भन्दै प्रियासनले थप्नुभयो,–‘आजको विद्यार्थी भोलिको मुलुकु बनाउने नागरिक हो । भोलिको नेतृत्वकर्ताको रूपमा उसमा ज्ञान, सोच, व्यवहार, सीप र मूल्यको समुचित मिश्रण हुनुपर्छ । यहाँ मैले अबको विद्यार्थीमा आवश्यक गुण, सीप, दृष्टिकोण र आचरणसहितको हुनुपर्छ । विद्यार्थीलाई क्षमतासहितको बनाउन विद्यालय, शिक्षक, अभिभावक, समाज अनि राज्यको पनि महत्वपूर्ण भूमिका हुन्छ, हुनुपर्छ ।’
६ कक्षा देखि १० कक्षासम्मका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रिन्सीपल कुमार नेपालीले पछिल्लो समयमा समाज सुधार अभियानमा प्रियासन कटिबद्ध भएर लागेको बताउँदै ग्रामिण भेगका विद्यालयहरुको सुधार र विकासका लागि पहल सुरु गरेकोमा प्रियासनको उच्च प्रशंसा गर्नुभयो ।
‘हामी विद्यालय सुधारको अभियानमा छौं, विद्यार्थीलाई क्षमतावान बनाउन लागि परेका छौं’,–प्रिन्सीपल नेपालीले थप्नुभयो–‘सविन प्रियासन जस्ता अभियनताहरु गाउँमै आएर विद्यार्थीको चौतर्फी विकासका लागि अगाडी बढाउनु भएको कदम हाम्रो लागि अनुकरणीय छ ।’
प्रियासनले प्रस्तुत गरेको अबको विद्यार्थी कस्तो हुनुपर्छ भन्ने अवधारणा समय सापेक्ष र सबैले अनुसार गर्ने खालको भएको बताउँदै आफुहरुले पनि विद्यालय सुधार र विद्यार्थीको क्षमता विकासका लागि प्रियासनले अगाडी सारेका अवधारणाहरु विद्यालयमा लागु गर्ने प्रिन्सीपल नेपाललीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपालीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विद्यालयले प्रियासनलाई सम्मान पनि गरेको थियो । कार्यक्रमको सञ्चालक शिक्षक रोशन महराले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति अध्यक्ष रिसमान चौधरी, भाइसप्रिन्सीपल ऋषिराज गिरी, नेपाली शिक्षक भक्तबहादुर डाँगी, डान्स शिक्षक वर्षा खत्रीलगायतको उस्थिति रहेको थियो ।
सो अबसरमा प्रियासनले साना कक्षाका बालबालिकाहरुलाई पनि अनौपचारिकरुपमा सकारात्मक कुराहरु सिकाउनु भएको थियो । दाङ–घोराहीका अन्य विद्यालयमा पुगेर यस प्रकारको कार्यक्रम गर्ने लक्ष्य रहेको पत्रकार प्रियासनले जानकारी दिनुभयो ।








