सविन प्रियासन
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित सरयु अर्थात बबै नदीको मुहान क्षेत्र प्राकृतिक सुन्दरता र धार्मिक आस्थाले भरिएको स्थल हो । यो क्षेत्र न केवल धार्मिक दृष्टिले महत्वपूर्ण छ, तर पर्यटकीय सम्भावनाले पनि भरिपूर्ण छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकलाई आकर्षित गर्ने क्षमता रहेको यो ठाउँलाई व्यवस्थित र दिगो तरिकाले विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिन्छ । यसको लागि विभिन्न पक्षमा समन्वय र लगानी आवश्यक छ ।
सरोयुको मुहान क्षेत्रसँग हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्व जोडिएको छ । जनश्रुतिअनुसार, यो मुहान क्षेत्रले धार्मिक यात्रालाई थप आध्यात्मिक बनाउँछ । त्यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक पृष्ठभूमि धार्मिक पर्यटनको विकासमा ठूलो योगदान पु¥याउन सक्छ । तर, यसको विकासका लागि पहल आवश्यक छ ।
सबभन्दा पहिला, सरयुको मुहान क्षेत्रको धार्मिक महत्वलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्छ । यसका लागि वृत्तचित्र निर्माण, ब्रोसर प्रकाशन, सामाजिक सञ्जालमार्फत प्रचार र वेबसाइट सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसले धार्मिक पर्यटकको आकर्षण बढाउँछ । त्यस्तै, यातायात पूर्वाधारलाई सुदृढ बनाउन जरुरी छ ।
अहिलेको अवस्थालाई हेर्दा यहाँ पुग्न सहज पहुँच छैन । सडकको स्तरोन्नति, संकेत चिह्नहरूको व्यवस्था र पार्किङ सुविधा विस्तार गरेर धार्मिक पर्यटकको यात्रा सहज र सुरक्षित बनाउनुपर्छ। साथै, पर्यटकहरूलाई आवश्यक पर्ने खानेपानी, शौचालय र विश्रामस्थल जस्ता आधारभूत सेवाको विकासमा पनि ध्यान दिनुपर्छ । धार्मिक पर्यटनले सांस्कृतिक पहिचान जगेर्ना गर्ने अवसर प्रदान गर्छ । त्यसैले, सरयुको मुहान क्षेत्रमा परम्परागत संस्कृतिका झलकहरू प्रस्तुत गर्ने धार्मिक मेलाहरू र उत्सवहरू आयोजना गर्न सकिन्छ । यस्ता मेलाहरूले धार्मिक आस्थालाई पुनर्जीवित गर्नुका साथै स्थानीय कला, संस्कृति र हस्तकला प्रवद्र्धन गर्छन् । यसले स्थानीय समुदायलाई समेत प्रत्यक्ष फाइदा पु¥याउँछ ।
स्थानीय समुदायको सहभागिता अत्यावश्यक छ । धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्दा स्थानीय जनताको आवाजलाई प्राथमिकता दिनुपर्छ । उनीहरूको अनुभव, सुझाव र सांस्कृतिक ज्ञानलाई उपयोग गर्दै पर्यटकलाई थप आत्मीय अनुभव प्रदान गर्न सकिन्छ । यसले स्थानीय जनताको जीविकोपार्जनमा समेत सहयोग पु¥याउँछ । धार्मिक पर्यटकको आगमनसँगै वातावरण संरक्षणमा ध्यान दिनुपर्छ । सरयुको मुहान क्षेत्रको जैविक विविधता र प्राकृतिक सुन्दरता जोगाउन दिगो पर्यटन अभ्यासहरू लागू गर्नुपर्छ । फोहोर व्यवस्थापन, प्लास्टिक निषेध र जैविक संरक्षणका उपायलाई प्राथमिकता दिनुपर्छ । धार्मिक क्षेत्रका लागि स्वच्छता र पवित्रता अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसैले, धार्मिक स्थल वरपरको सरसफाइ र हरियाली व्यवस्थापनमा समेत निरन्तर ध्यान दिनुपर्छ ।
सरकार र स्थानीय तहबीचको सहकार्य पनि महत्वपूर्ण छ । वडा कार्यालय, नगरपालिकाका योजना तथा बजेटमार्फत यस क्षेत्रको पूर्वाधार विकास गर्न सकिन्छ । साथै, निजी क्षेत्रसँगको साझेदारीले पनि धार्मिक पर्यटनको दिगो विकासमा सघाउ पु¥याउँछ । सरकारले धार्मिक क्षेत्रको विकासमा अनुदान, कर छुट र प्राविधिक सहयोग दिनुपर्छ । निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र गाइड सेवा विस्तार गर्न सक्छ । सरयुको मुहान क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रमा रूपान्तरण गर्न सामूहिक प्रयास अपरिहार्य छ । धार्मिक, सांस्कृतिक र आर्थिक दृष्टिले यस ठाउँको महत्वलाई उजागर गर्दै दिगो विकास सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो । यदि यी सबै पक्षलाई समन्वयात्मक ढंगले अघि बढाउन सकियो भने सरयुको मुहान क्षेत्र निकट भविष्यमै राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।