डा. शुरामणि बेल्बासे
नेकपा (एमाले) ले यति बेला राष्ट्रिय जरा अभियान सञ्चालन गरिरहेको छ । एमालेले प्रत्येक वर्ष जनताको घरदैलोमा पुग्न कुनै न कुनै नयाँ अभियान सञ्चालन गर्ने गरेको छ । अभियानमा सिंगो पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिलाई प्रभावकारी परिचालन गरेर जनताको घर आँगनसम्म पुगेर सांगठनिक तथा वैचारिक काम गर्ने गर्दछ । २०७९ मा देशव्यापी रूपमा तीन महिने ग्रासरुट अभियान सञ्चालन गरेर पार्टीलाई व्यवस्थित बनाएको एमालेले २०८० मा मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म तीन हप्ते यात्रा सम्पन्न गरेको थियो । मध्यपहाडको करिब १,७०० कि.मि. यात्रा सम्पन्न गरेर त्यस क्षेत्रको भौतिक विकासको स्थिति र सम्भावनाको अध्ययनका साथै लाखौँ जनतासँग साक्षात्कार गरेर उनीहरूको जीवनचर्याको समेत अध्ययन गरेको थियो ।
मध्यपहाडी क्षेत्र नेपालको प्रचुर सम्भावना भएको क्षेत्र हो, जहाँ महत्वपूर्ण खानीहरू रहेका छन् । खानीको अध्ययन, अनुसन्धान र सञ्चालन गर्न सक्दा नेपाललाई संसारकै एउटा समृद्ध राष्ट्र बनाउन सकिन्छ । त्यस अभियानमा यसको अध्ययनसँगै त्यस क्षेत्रमा सञ्चालन भइरहेका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिको स्थिति, २०८० कात्तिक १७ गतेको भूकम्पबाट भएको क्षति, राहत र पुनर्स्थापनाको स्थितिको अध्ययनसँगै जनताको जीवनचर्याको समेत अध्ययन गरिएको थियो । अभियानको केही महिना पछि बनेको नेकपा (एमाले) नेतृत्वको सरकारले भूकम्प प्रभावितहरूको पुनर्स्थापनाका लागि रकमको व्यवस्था गरेको छ, दैलेखमा पेट्रोलियम अन्वेषणको काम सम्पन्न गरेको छ र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
यस वर्ष माघदेखि चैतसम्म तीन महिने राष्ट्रिय जरा अभियान सञ्चालन गरेर एमालेले पार्टीलाई राष्ट्रिय मुख्य शक्ति निर्माण गर्ने उद्देश्य राखेको छ । नेपालमा बहुदलीय व्यवस्था स्थापनापछि पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । यो ३५ वर्षको अवधिमा २८ वटा सरकार बनेका छन् । सरदर साढे एक वर्षभन्दा बढी सरकारले स्थायित्व पाउन सकेको छैन, यसको प्रत्यक्ष प्रभाव विकासमा परेको छ । एउटा सरकारले निर्माण गरेको नीति कार्यक्रम राम्रोसँग लागू हुन नपाउँदै अर्को सरकार बन्ने अवस्थाले राजनीतिक स्थिरताबाट प्राप्त हुने फाइदाबाट नेपाल पूर्ण रूपमा वञ्चित भएको छ । देशमा राजनीतिक स्थायित्व कायम गर्न, समृद्ध राष्ट्र बनाउन, जनताको जीवन सुखी बनाउन बलियो राष्ट्रिय शक्ति निर्माणका लागि एमालेले जनताको घरदैलोमा पुगेर जनतालाई आफ्नो पार्टीमा गोलबद्ध गर्ने अभियान चलाएको छ ।
जनमतका हिसाबले नेकपा (एमाले) यो देशको पहिलो राजनीतिक शक्ति हो । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै लडेको एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ २८,४५,६४१ (३०.६९ प्रतिशत) मत प्राप्त गरेको थियो भने पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसले २७,१५,२२५ (२९.०९ प्रतिशत) मत प्राप्त गरेको थियो । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रले ११,७५,६८१ (१२.६८ प्रतिशत) मत प्राप्त गरेको थियो । निर्वाचनको समयमा २० वर्ष पार्टी नेतृत्व गरेका, प्रधानमन्त्री भइसकेका दुई जना नेताहरू माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर एकीकृत समाजवादी निर्माण गरी नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धन बनाएका थिए । यो पार्टीले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकी राष्ट्रिय पार्टी बन्न सकेन । निर्वाचनको परिणामलाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धन नभएको भए एमालेले बहुमत ल्याउन सक्ने विषयमा कुनै द्विविधा देखिंदैन ।
वैचारिक रूपमा नेकपा (एमाले) यो देशको एउटा परिपक्व पार्टी हो, जससँग जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छ । जबज प्रयोगबाट सिद्ध भएको, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सिद्धान्त हो । यसै सिद्धान्तको मार्गदर्शनमा यो पार्टी चलेको छ । माक्र्सवादलाई आफ्नो देशको विशिष्टताका आधारमा प्रयोग गर्ने कम्युनिस्ट पार्टी मात्र सफल भएका पछिल्ला अध्ययनहरूले देखाएका छन् । जबज नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सिद्धान्तका रूपमा प्रमाणित भएको छ । २०४६ देखि २०६५ सम्म नेपालमा परीक्षण भएका चारवटा मुख्य विचारको अध्ययनबाट पनि जबज मात्र सही विचार/सिद्धान्त भएको पुष्टि गर्न सकिन्छ ।
जबजको मार्गदर्शनमा एमाले नेतृत्वको सरकारले तुलनात्मक रूपमा राम्रा कामहरू गरेको छ । माओवादी सशस्त्र द्वन्द्वको अन्त्यसँगै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा र दोस्रो संविधानसभामार्फत जनपक्षीय संविधानको निर्माणमा नेकपा (एमाले) को अहम भूमिका रहेको छ । आफ्नै देशको संविधान आफैं बनाए बापत भारतले लगाएको नाकाबन्दीको अन्त्यका लागि समेत एमालेकै अपरिहार्यता रहेको थियो । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मात्र भारत झुकेर नाकाबन्दी अन्त्य गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चीनसँग पारवहन सन्धि गरेर नेपाललाई भारतवेष्ठित राष्ट्रबाट एक सार्वभौम राष्ट्रका रूपमा स्थापित गरिएको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्दा देशमा विकास निर्माणको कामले तीव्रता पाएको छ । देशको स्वाभिमान उचो भएको छ । जनतामा नयाँ आशा जागृत भएको छ तर नेकपा (एमाले), यो सरकार र प्रधानमन्त्रीविरुद्धमा चौतर्फी आक्रमण भइरहेको छ । खासगरी पछिल्लो समयमा प्रधानमन्त्रीविरुद्धमा गलत आरोपहरू लगाउने, अश्लील गालीगलौज गर्ने कार्य बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम छर्ने प्रयास भइरहेको छ । भारतीय सञ्चारमाध्यमले समेत हाम्रा प्रधानमन्त्रीविरुद्ध तथ्यहीन आरोपहरू सम्प्रेषण गरिरहेका छन् ।
विषम परिस्थितिमा नेकपा (एमाले) ले माघदेखि चैतसम्म राष्ट्रिय जरा अभियान सञ्चालन गरिरहेको छ । यो अभियानबाट देशका कुल मतदाताको छ प्रतिशत पार्टी सदस्य बनाउने योजना एमालेको रहेको छ । एमाले नेतृत्वका सरकारले राष्ट्रको विकास, समृद्धि र स्वाभिमानका निम्ति गरेका महत्वपूर्ण कामको तथ्य जनतामाझ सम्प्रेषण गर्ने, पार्टीभित्रको सुदृढीकरण गर्ने, युवा नेतृत्वको विकास गर्ने, पार्टी प्रवेशको कामलाई महत्वका साथ अघि बढाउने, सबै वडामा बलियो संगठन निर्माण गर्ने, जनसंगठनहरू विस्तार गर्ने, विकास योजनाहरूमा छलफल गर्ने, र विरोधीहरूले फैलाएका भ्रमहरू दृढताका साथ चिर्ने कार्य यो अभियानभर गरिने छ ।
राष्ट्रिय उत्सवका रूपमा यो अभियान चलिरहेको छ । उद्देश्य पूरा गरेर मात्र अभियान सम्पन्न हुनेछ । यो अभियानको सफलतामा देश र एमालेको भविष्य जोडिएको छ । अभियान सफलताको शुभकामना !