दाङ औद्योगिक क्षेत्र मुलुककै उत्कृष्ट

दाङ, ३२ साउन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड काठमाण्डौंले मुलुकमा प्रस्तावित पाँच ओटा औद्योगिक क्षेत्रहरुमा सबैभन्दा उत्कृष्ट दाङ औद्योगिक क्षेत्र भएको निष्कर्ष निकालेको छ ।

औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत सहित पछिल्लो अवस्था बारेमा बुझ्न आएको आएको विज्ञहरुको टोलीले प्रस्तावित औद्योगिक क्षेत्र सबै औद्योगिक क्षेत्रहरुमध्ये उत्कृष्ट देखिएको निष्कर्ष निकालेको हो । ‘हामीले मुलुकभर प्रस्ताव गरिएका पाँच ओटै औद्योगिक क्षेत्रहरुको हालको अवस्था के छ भनेर स्थलगत अध्ययन गरेका छौं,’ प्रस्तावित औद्योगिक क्षेत्रहरुको स्थलगत अवलोकन पछि गणतन्त्र दैनिकलाई प्रतिकृया दिदै बस्नेतले भन्नुभयो, ‘अन्य प्रस्तावित औद्योगिक क्षेत्रको तुलनामा दाङ औद्योगिक क्षेत्र निकै उत्कृष्ट भएको पायौं ।’

सबै औद्योगिक क्षेत्रहरुको डीपीआर तयार भएर घोषणाको अन्तिमचरणमा छ । औद्योगिक क्षेत्रहरुको फाइल मन्त्रिपरिषद्को कार्यालयमा पुगेपनि हालसम्म पेश हुन सकेको छैन । के कति कारणले पेश हुन सकेन भन्ने बारेमा आफूहरु अनविज्ञ भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो । ‘अध्ययन गर्न आउने सबै टोलीले उत्कृष्ट भन्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, हालसम्म घोषणा हुन सकेको छैन, यसले हामीलाई चिन्तित तुल्याएको छ ।’

दाङमा औद्योगिक क्षेत्र बनाउनका लागि यहाँका सबै सरोकारवालापक्षहरु बीच साझा प्रतिवद्धता समेत व्यक्त भएको भुसाललले जानकारी दिनुभयो । ‘यहाँका स्थानीय तह देखि सबै पक्षहरुबीच औद्योगिक क्षेत्र बनाउनका लागि साझा प्रतिवद्धता भएको छ,’ उहाँले भन्नुभयो, ‘यहाँबाट प्रतिनिधित्व गर्नुहुने सबै जनप्रतिनिधिहरुले समेत यसका लागि पहल गरिरहनुभएको छ ।’ अब पनि औद्योगिक क्षेत्र घोषणा नभए यहाँका सबै जनप्रतिनिधि, राजनीतिक दल सहित सम्पूर्ण सरोकारवालाहरु काठमाण्डौंमै गएर धर्ना दिनुपर्ने अवस्था आउने भुसाललेको भनाई छ ।

औद्योगिक क्षेत्रमा सरकारको लगानी ५ अर्ब
प्रस्तावित दाङ औद्योगिक क्षेत्र निर्माणका लागि ५ अर्ब रुपैयाँ सरकारले लगानी गर्ने भएको छ । औद्योगी क्षेत्र बनाउनका लागि बनाइएको डीपीआर अनुसार आधारभूत पूर्वाधारमा मात्रै सरकारले ५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको हो । अरु लगानी भने निजी क्षेत्र आँफैले गर्ने छ ।

सो रकम औद्योगिक क्षेत्रमा सडक, विद्यूत, जग्गाको चक्का मिलान, सुरक्षा, खानेपानी, ढल निकास, पानी प्रशोधन, नदीमा तटबन्धका लागि खर्च हुने छ । सरकारले घोषणा गरे लगत्तै पूर्वाधार निर्माणको काम शुरु हुने छ । साविकको राप्ती अञ्चलमा औद्योगिक क्षेत्र नहुँदा लगानीकर्ताहरुको आकर्षण बढ्न सकेको छैन । जथाभावि स्थापना भइरहेका उद्योगले यहाँको कृषि क्षेत्रलाई नाश गरिरहेको । बस्तिको बीचमा उद्योग धन्दा स्थापना हुँदा वातावरण प्रदूषण समेत भइरहेको छ ।

औद्योगिक क्षेत्र स्थापना पनि निजी क्षेत्रलाई उद्योग धन्दा स्थापना गर्न निकै सजिलो हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल बताउनुहुन्छ । अहिले निजी क्षेत्रलाई उद्योगधन्दा स्थापना गर्दा सबैभन्दा बढी जमिनमा लगानी भइरहेको छ । औद्योगिक क्षेत्र स्थापना पछि निजी क्षेत्रलाई जमिन र आधारभूत पूर्वाधारमा लगानी गर्नुपर्दैन । सम्पूर्ण उद्योगहरुको सुरक्षाको जिम्मा राज्यले लिन्छ । यसले दाङमा लगानी मैत्री वातावरण तयार हुने भुसालले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *