अतिक्रणको चपेटामा ग्वार खोला

गोकर्ण पौडेल
तुलसीपुर, २७ साउन । राष्ट्रियता सर्तकता केन्द्रले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ ग्वार खोला पुल वरपर एक हजार बिगाहा जग्गा अतिक्रमणमा परेको प्रतिवेदन सार्वजनिक ग¥यो ।

केन्द्रको प्रतिवेदनमा उल्लेख गरेअनुरुप त्यस क्षेत्रमा भने एक हजार बिगाहा नै नभएको तथ्य फेला परेको छ । साविक मानपुर गाविसको जहदागाउँ मौजामा २ सय १० बिगाहा क्षेत्रफल जग्गा ऐलानी रहेको र हाल अतिक्रमित क्षेत्रमा ८० बिगाहाभन्दा बढी जग्गा नरहेको साविक मानपुर गाविसका पूर्व अध्यक्ष गोविन्द मजगैयाले बताउनुभयो । २०५० सालमा त्यस क्षेत्रका थारु समुदायका व्यक्तिहरुलाई हाल अतिक्रमण भनिएको क्षेत्रमा तत्कालीन मानपुर गाविस अध्यक्ष गोविन्द मजगैयाको निर्देशनमा बसालिएको थियो । आफ्नै पहलमा त्यस क्षेत्रमा बसालिएको मजगैयाले स्वीकार गर्नुभएको छ ।

अतिक्रमित भनिएको क्षेत्रमा ४० वर्षदेखि जग्गा जोतभोग गर्दै आएको तुलसीपुर १६ जहदागाउँका ठगलाल चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो ‘मैले जोतभोग गर्दै आएको अतिक्रमण भनिएको जग्गा सुकुम्बासी समस्या समाधान आयोगको दाङको कार्यालयमा फर्म दर्ता गरेको प्रमाण समेत छ ’ । साविक मानपुर ३ जहदागाउँका ठगलाल चौधरीले सुकुम्बासी समाधान आयोग दाङमा दर्ता नम्बर ३२ मा जग्गा दर्ता गर्नुभएको छ । उहाँले प्रतिप्रश्न गर्नुभयो कसरी हामीलाई भूमाफिया भनियो ।

चौधरीसँग मात्र होइन सर्तकता केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएका जगराम चौधरीले समेत आयोगमा आफूले जोतभोग गर्दै आएको जग्गाको फर्म दर्ता गरेको आफूसँग प्रमाण रहेको बताउनुभयो । भूमि सम्बन्धी ऐन आठौ संशोधन विधेयकको ८ नम्बर बुँदामा दश वर्षदेखि आवाद भएको ऐलानी, वा अन्य सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र जनिएको भएतापनि आवादी परिणत भएको जग्गामा कमोत गरी आएका भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई एक पटकका लागि नेपाल सरकारले निजहरुले आवाद गरेको स्थान वा नेपाल सरकारले उपर्युक्त ठह¥याएको अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफल नबढ्ने गरी जग्गा उपलब्ध गराउने कुरा उल्लेख गरिएको छ ।

यता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष भुपबहादुर केसीले वास्तविक जोताहा किसानहरुलाई प्रमाणसहित पटक पटक वडा कार्यालयमा निवेदन दिन आग्रह गरेपनि किसानहरुले अटेरी गर्दै आएको बताउनुभयो । ग्वार खोला पुन बन्नुअघि सीमित व्यक्तिहरुले त्यस क्षेत्रमा जग्गा भोगचलन गर्दै आएपनि पुल बनेसंगै घर टहरा निर्माण कार्यले तीव्रता पाएको अध्यक्ष केसीले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको मिति २०७६ वैशाख १९ गतेको कार्यपालिकाको बैठकले ग्रामीण औद्योगिक क्षेत्र निर्माणका लागि त्यस क्षेत्रको जग्गा उपयोगमा ल्याउने निर्णय गरेको थियो ।

यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सरकारी जग्गा अतिक्रमणमा जनप्रतिनिधिको संलग्नता देखिए कार्वाही गरिने बताउनुभयो । ‘संघीय तहबाट छानविन भइरहेको छ, वास्तविक सुकुम्बासीको समस्या समाधानका लागि तयार छौ नगरप्रमुख पाण्डेले भन्नुभयो । जग्गा किनबेचमा जनप्रतिनिधि वा जो कोही संलग्न भएको पुष्टि भए कार्वाही प्रक्रिया अघि बढाउँछौ,’ पाण्डेले भन्नुभयो ।

प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दुजमान भण्डारी (वर्षात) को नाममा सर्तकता केन्द्रमा उजुरी परेपनि जग्गा किनबेचमा संलग्नता भएको प्रमाण नभेटिएको उल्लेख गरिएको छ । वडा सदस्य भण्डारीले जग्गा लेनदेनमा कुनै संलग्नता भेटिए हदैसम्मको कार्वाही भोग्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । २०७६ असोज २२ गते जिल्ला प्रशासन कार्यालयले तुलसीपुर उपमहानगरपालिका र प्रहरी कार्यालयलाई अतिक्रमित घर टहरा भत्काउ निर्देशन दिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *