पुष्पालाई मानसिक यातना दिने के तिम्रो क्यामेरा हिरासत हो ?

केशरमान बुढाथोकी
काठमाडौंमा बाल गृह संचालन गरेर बसेकी पुष्पा अधिकारी कहाँ छिन ? को हुन् ? उनको समाज सेवाको पृष्ठभुमि के हो ? उनको बालगृह कहाँ कुन ठाउँमा छ ? उनले बालगृह के कसरी चलाएकी छिन ? यी सबै कुरामा स्तम्भकार बेखबर छ । “नजाने गाउँको बाटै नसोध्नु“ भने झैँ स्तम्भकारलाई यो बिषयमा जानकारी हुन जरुरी पनि छैन नकी उसलाई कुनै समाजसेवाको नाटक मन्चन गर्दै गोजीबाट ५ हजार रुपैयाँ निकालेर कसैलाई दिन र वा वाही कमाउनु छ ।

तर, पछिल्लो समय नेपाली सामाजिक संजाल बजारमा चर्चामा रहेको एउटा कुराले भने स्तम्भकारको मुटुमै च्वास्स बिजाएको छ । कुरा हो केहि दिन अगाडी राजधानीमा भएको एउटा घटनाको ट्रेलर । घटना अनुसार राजधानीको कपनमा काटुनमा एउटा अबोध बालक भेटिन्छ । बालक भेट्ने मध्यका कुनै एक जनाले केहि युट्युबरलाई सम्पर्क गर्छन राजधानीको कपनमा एउटा काटुनमा शिशु भेटिएको छ तपाईहरु आउनुपर्यो ।

अनि युट्युबरलाई भेटियो खुराक । क्यामेरा बोकेर थाहा पाएजति सबै पुगे अनि हतार हतार शिशु सहितको कार्टुनमा सबैको क्यामेरा सोझियो । अनि उस्तै हतारो गर्दै घर पुगेर भिडियो पोस्ट गरे । अनि सबै लागे आआफ्नो च्यानललाई रिफ्रेस गर्दै भ्यु हेर्न तर्फ किन कि युट्युब भियु भए अनुसार आआफ्नो खातामा आउने गर्छ डलर । अर्को तर्फ बरोबर आफ्नो मोबाइल हेर्न थाले बिदेशीएका नेपालीले कति सहयोग को घोषणा गर्दै फोन गर्छन ।

कसैलाई मतलब भएन त्यो बच्चा को हो ? किन यहाँ फालिएको छ ? बाआमा कहाँ छन् ? नौ महिना आफ्नो कोखमा राखेर कोहि महिलाले आफ्नो सन्तान बाटोमा फाल्न सक्छे ? यो वास्तविकता नभएर पैसा कमाउने धन्दा अथवा चर्चा कमाउनका लागि गरिएको नाटक त होइन ?

यतिकैमा राजधानी मै बालगृह सञ्चालन गर्दै आएकी पुष्पा अधिकारी आइन यो बच्चाको भगवान बन्न । उनीले दुई चार जना युत्युबरका अगाडी उक्त बच्चालाई भगवानले आफुलाई उपहार दिएको नाटक गर्दै त्यसलाई कोख मात्र होइन नाम पनि दिने बाचा गरिन् । अनि पायो पुस्पाको समाजसेवा र मातृत्वको मायाले सर्बत्र चर्चा । उनको यस्तो सत्कर्मको चर्चा दिगदिगान्तर भएपछी उनलाई प्रसंसा गर्दै सहयोगी हातहरुले सकेको आर्थिक सहयोग गर्न थाले । उता भिडियो बनाएर युत्युबमा पोस्ट गर्ने जति सबैको च्यानलमा पनि युट्युबबाट डलर आउन थाल्यो कतिपयको त युट्युब च्यानल नै ट्रेन्डिङमा पर्न सफल भयो  ।

व्यस्त सडक किनारमा एक अबोध बालक काटुनमा हालेर फालिएको अवस्थामा भेटिदा प्रहरीलाई सम्म खबर गर्न जरुरी नठानेका युट्युबर र बाल आश्रम संचालक दुवै आ आफ्नो ठाउँमा मालामाल भैरहेको बेला यतिबेला घटनाले अर्को मोड ल्याइदियो जतिबेला बाल आश्रम संचालक पुस्पाले यो सबै एउटा महिलाको लागि गरिएको नाटक मात्र हो भन्ने कुरा स्वीकार गरेर अन्तर्वार्ता दिइन् । अनि पारो तातियो युट्युबरहरुको ।

भिडियो खिच्दा र पोस्ट गर्दा सम्म त्यो अबोध बालक, नौ महिना कोखमा राखेर जन्माएपछी सडक पेटीमा आफ्नो शिशु छोडेर जानुपर्ने आमाको बाध्यता र शिशुको निर्दयी बाबुको कुनै पहिचान गर्न जरुर नठानेका युट्युबरले अब खोजि गर्न थाले पुस्पा अधिकारीको बाल गृह ।

सक्ने जति युट्युबरहरु दौडिए पुष्पा अधिकारीको बालगृह तर्फ र त्यहाँ पुगेपछि बालगृहको नीति नियमको कुनै प्रबाह नगरेर जबरजस्ती भित्र पसे । आफ्नो कोठा भित्र सोफामा बसेकी पुष्पा संग तेर्साए अनवरत प्रश्नहरु मात्र । यसो कि पुष्पाले कुनै जघन्य अपराध गरेपछि अहिले अदालतको कटघरामा उभिएकी छिन । चारैतर्फ ठाडिएका छन् युट्युबरहरुका क्यामरा । अनि सुरु हुन्छ युट्युबरहरुको प्रहरी शैलीमा गरिएको केरकार ।

पुष्पाले गम्भीर अपराध नै गरेको शैलीमा युट्युबरले उनको अन्तर्वार्ता लिइरहँदा उनलाई कैयौ मानसिक यातना भयो होला भन्ने कुरा युट्युबरले लिएको अन्तर्वार्तामा प्रष्ट देख्न सकिन्छ । उनीलाई अहिले प्रेसर बढेको छ , एकछिन पछि आएर तपाईहरु संग बोल्छिन है भन्दा सम्म पनि कसैले उनलाई आरामको आवश्यकता छ भन्ने कुरा सोचेका छैनन् । उनको इज्जत नै माटोमा मिल्ने गरि उनको अन्तर्वार्ता अनवरत लिइरहेका छन् युट्युबरहरु ।

अख्तियारको शैलीमा युट्युबरहरु अन्तर्वार्ता गर्दै गर्दा ठाउँको ठाउँ उनलाई आर्थिक सहायताको हिसाब देखाउन दवाव दिन्छन । अनि उसैगरी ठाउँको ठाउँ माग्छन आफुले सहयोग गरेको पैसा । आखिर मानव न हो कहिले काही चाहेर वा नचाहेर गल्तिहरु हुँदा रहेछन भन्दै पुष्पाले आफ्नो गल्ती स्वीकारेर दुई हात जोडेर पटक–पटक क्षमायाचना गर्छिन् । तर युट्युबरहरु उनलाई क्षमा दिने अवस्थामा छैनन् ।

एउटा अबोध बालकलाई कमाइ खाने भाँडो बनाउन खोज्नु बाल आश्रम संचालक पुष्पा अधिकारीको गम्भीर गल्ति हो । यो गल्ति स्वीकार गर्दै पुष्पाले कैयौ पटक क्षमायाचना गरिन । क्षमा याचना गर्दैगर्दा उनले उक्त बालककी आमाको केहि बाध्यताका पोखाहरु फुटाउने प्रयास नगरेकी पनि होइनिन । तर हात्तीलाई पुराण सुनाए झैँ भयो यी सबै कुरा युट्युबरहरुका लागि ।

आफुले नाटक गर्नुपर्ने बाध्यता भएको भन्दै उक्त शिशु भर्खरै मात्र विदेशबाट नेपाल फर्केकी महिलाले जन्माएकी हुन् भन्छिन पुष्पा । शिशुको बाबु पहिचान गर्न नसक्ने अवस्था भएको भन्दै शिशुलाई आफैंसँग राख्दा परिवार र समाजले यो कुरा स्वीकार नगर्ने भन्दै शिशुकी आमाले आफ्नो अबोध बालक पुष्पाको बालगृहमा सुम्पिएकी थिइन् ।

हो पुष्पाले यसै अबोध बालकलाई राजधानीका सडकमा फुटपाथ व्यापारीले मोजा बिक्रि गर्न राखे जस्तै काटुनमा राखेर सडक पेटीमा ब्यापारका लागि बसाल्नु गम्भीर गल्ति हो । शिशुकी आमाले पनि नौ नौ महिना गर्भमा राखेर जन्म दिएको सन्तानलाई संसार दिखाएपछी परिवार वा समाजको डर मानेर अर्कैलाई जिम्मा लगाउन खोज्नु गम्भीर गल्ति हो ।

तर यति गल्ति हुँदा हुँदै यसरी युट्युबरहरुको अदालतमा उभिएर पुष्पाले आफ्नो गल्ती स्वीकारेर पटक–पटक क्षमायाचना गरिन र आफुले उक्त शिशुको नाममा उठेको सहयोगको विवरण देखाउदै माग्ने जति सबैको पैसा फिर्ता गरिदिने प्रतिवद्धता जनाउछिन । यति बोल्दा पनि युट्युबरहरु पुष्पालाई अनवरत हमला गरिरहन्छ । जसका कारण पुष्पालाई ठुलो मानसिक यातना हुन्छ । यसरी युट्युबरका कारण एउटा महिलाले सामना गर्नु परेको मानसिक यातनाले उनको मानबअधिकार हनन भएन र ? अनि युट्युबरका कारण पुष्पाले बेहोर्मु परेको मानसिक तनाबको जिम्मा कसले लिने ।

युट्युबरको कठघरामा उभिएर क्षमा याचनाको शैलीमा आफ्नो कर्म प्रति पश्चाताप गरिरहेकी पुष्पाको क्रन्दनको कुनै प्रबाह नगर्ने युट्युबरहरुले अन्ततः पुष्पाका कारण लाखौँ कमाउदै पुष्पाकै गलत कर्मको ब्यापार गरिरहेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *