यमकला भुसाल
तुलसीपुर, साउन २२ । दाङको तुलसीपुरमा बिभिन्न समुदाय स्तरमा कोरोना भाइरस संक्रमण भए÷नभएको परिक्षण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा भित्रका बिभिन्न टोलबासी, चिकित्सक, होटल व्यवसायी,यातायात मजदुर, चिकित्सक÷ स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको बुधबार पीसिआर टेष्ट गरिएको हो ।
कोरोना भाइरसको बढी जोखिम देखिएपछि जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा नमूनाका रुपमा समुदाय स्तरमा कोरोना परिक्षण थालिएको स्वास्थ्यकर्मी लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । माध्यामिक बिद्यालय सेन्टर तुलसीपुर क्वारेन्टाईनमा बसेका ४७ जना र बिभिन्न टोलबस्ती र पेशामा आबद्ध भएका गरी २ सय बढीको पीसिआर टेष्ट गरिएको न्यौपानेले बताउनुभयोे । उहाँका अनुसार पीसिआर परिक्षणका लागि निकालिएको स्वाव भोली बिहीबार नेपालगञ्ज पठाईने छ । स्वावको नतिजा आउन ३÷४ दिन लाग्न सक्ने उहाँको भनाई छ ।
यसैबिच जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलका अनुसार तुलसीपुर, घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा र राप्ती गाउँपालिकालाई छनौट गरेर नमूनाका रुपमा स्वाब संकलन गरिएको हो । उहाँले जिल्लाका ४ पालिकामा १ सय ९४ वटा स्वाबको नमूना संकलन गरिएको बताउनुभयो ।
समुदायस्तरमा संकलन गरिएको स्वाबको परिक्षणमा घोराही उपमहानगरपालिकामा भने रिपोर्ट नेगेटिभ आएको उहाँको भनाई छ । त्यस्तै उहाँका अनुसार दाङमा अब २३ जना मात्र कोरोना संक्रमित निको हुन बाँकी रहेका छन् ।