बजेट कार्यान्वयनमा भूमिका खेल्नुहोस् ः मुख्यमन्त्री पोख्रेल

दाङ, २२ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनमा भूमिका खेल्न सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभालाई संवोधन गर्नुहुँदै प्रमुख अतिथी पोख्रेलले जिल्ला सभाले लिने नीति, कार्यक्रमले दाङको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको सन्तुलित विकासमा भूमिका खेल्नेगरी समन्वयको भूमिका निर्धारण गरिएको धारणा व्यक्त गर्नुभयो । ‘जिल्लाका सवै सरोकारवाला निकायहरुलाई विकासको मार्गमा हिडाउन सकको खण्डमा हामी समृद्धिको गन्तव्यमा पुग्न सक्छौं,’ पोख्रेलले भन्नुभयो, ‘तर, विकासका लागि आउने वजेट कार्यान्वयन नै नहुने समस्या रहेको छ, तीन तहका सरकाले ल्याएका योजना कार्यान्वयनमा भूमिका खेल्न म सबै सरोकारवालाहरुलाई हार्दिक आग्रह गर्दछु ।’

पोखरले दाङको समग्र विकासका लागि दीर्घकालिन गुरुयोजना आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । ‘हामीले यो प्रदेशलाई नै समृद्ध बनाउने योजना अघि सारेको छौ,’ उहाँले भन्नुभयो, ‘दाङको विकासका लागि सबै तह र तप्काबाट पहल हुन आवश्यक छ ।’

यसैबीच तीन तहकै सरकारका नीति, विकास र योजना तथा कार्यक्रमको प्रभावकारी समन्वय तथा अनुगमन गर्ने नीति कार्यक्रम तर्जुमा गर्दै जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभा सकिएको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आयव्यय विवरण सभाले पारित गरेको हो । समन्वय समितिले ल्याएको नीति तथा कार्यक्रममा उसको समन्वयकारी भूमिकालाई नै प्राथमिकता दिएर जिल्लाको विकास, सुशासन र समृद्धिमा टेवा पु¥याउने उल्लेख गरिएको छ । समन्वय समितिले २००८ साल जेठ ३ गते दाङ देउखुरीलाई स्वतन्त्र प्रशासनिक जिल्ला कायम गरिएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै जिल्ला सभाले हरेक वर्ष जेठ ३ गते दाङ स्थापना दिवसको रुपमा मनाउने प्रस्तावलाई पनि पारित गरेको छ ।

दाङको ऐतिहासिकता, सभ्यताको उजागर गर्दै ववई सरयू सभ्यताको प्रचार प्रसार गर्ने, चौघेरा र भारतको देवीपाटन यात्रालाई जिल्लाको साँस्कृतिक उत्सवको रुपमा स्थापित गर्दै घोराही–लमही–कोइलावास सडकलाई रतननाथ मार्ग नामाकरण गर्न समन्वय गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी भारतसंगको सीमामा रहेका जंगे पिलरको संरक्षणका लागि समन्वय गर्ने, सीमा रक्षकका रुपमा रहेका नाकावासीहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, यातायात र रोजगारीलगायतका समस्या समाधानका लागि नाका विशेष कार्यक्रम सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारसंग समन्वय गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । विकास निर्माणका लागि आफ्नै बजेट नभएपनि समन्वय समितिले आफूले लिएका नीति, कार्यक्रमले सरकारका कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नीति कार्यक्रम प्रस्तुत गर्दै समन्वय प्रमुख जितेन्द्रमान नेपालीले भन्नुभयो,– समन्वयका नीति कार्यक्रमले तीन तहकै सरकारले सञ्चालन गर्ने विकास निर्माणका काम तथा सेवा प्रवाहमा सहयोगी हुनेछन । नेपालीले जिल्ला समन्वयको आन्तरिक वार्षिक आम्दानी ३० लाख अनुमान गर्दै एक करोड ९५ लाख ३२ हजार ९ सय ८९ रुपैया ३१ पैसाको चालु अनुमानित व्यय प्रस्तुत गर्नुभएको थियो ।

समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, प्रदेश सभा सदस्य अमरबहादुर डाँगी र शंकर गिरीले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न सूचकका आधारमा उत्कृष्ट हुने पालिका, कार्यालय र संस्थाहरुलाई सम्मान गरिएको थियो । पालिकातर्फ तुलसीपुर उपमहानगरपालिका प्रथम, राप्ती गाउँपालिका द्धितिय र घोराही उपमहानगरपालिका तृतिय भएका थिए भने सरकारी कार्यालयतर्फ कृषि ज्ञान केन्द्र प्रथम, खानेपानी डिभिजन कार्यालय द्धितिय र पूर्वाधार विकास कार्यालय तृतिय भए ।

यसैगरी गैससतर्फ सहकर्मी समाज प्रथम, ओरेक नेपाल द्धितिय र नेपाल महिला सामुदायिक संस्था र नेपाल परिवार नियोजन संघ तृतिय भएको भन्दै सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सुदीप गौतमले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *