‘वाउ मम’का मालिक विनोद हुमागाईं : एक नेपाली युवाले भारतमा साढे २ सय करोडको ब्राण्ड बनाए

उत्तर भारतका नेपालसँग जोडिएका प्रान्तहरु पश्चिम बंगाल, विहार र उतरप्रदेश मात्र होइन दक्षिण भारतका प्रान्तहरुका सबै सहरहरुसम्म यतिखेर ‘मम’को एउटा ब्राण्ड सुविख्यात हुँदैछ । ‘वाउ मम’ को ‘आउटलेट’ अनिवार्य जस्तै भएको छ, स्तरीय सहरहरुमा । एकजना नेपाली युवा उद्यमी विनोद हुमागाईले स्थापित गरेको यो ब्राण्ड मोमोका लागि भारतमा सर्वाधिक लोकप्रिय ब्राण्ड बन्न गएको छ ।

नेपालमा जताततै पाइने लोकप्रिय खाजा मम भारतमा पनि रुचाउन थालिएको भेउ विनोदले कलेज पढ्ने समयमै पाइसकेका थिए । ‘यसलाई एउटा ब्राण्डसहित स्थापित गर्न सके गज्जब हुन्छ,’ भन्ने आइडियाले आज यस ब्राण्डको मात्र जन्म भएन नाम र दाम पनि दियो विनोदलाई । १२ वर्षको अन्तरालमा उनी आर्थिक रुपमा सम्पन्न र होनाहार युवा उद्यमीको रुपमा भारतमा र अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक स्थान पाएका छन् ।

‘वाउ मम’ नामको उनले स्थापित गरेको ब्राण्ड भारतमै सर्वाधिक रुचाइएकोे छ । उद्यमी विनोदका बुवा नारायण हुमागाईं काभ्रे धुलिखेलको पुख्र्यौली थलोबाट रोजगारीका लागि भारतको कोलकाता पसे । छोरा विनोद कोलकातामै हुर्किए । सन् २००८ मा कोलकाताकै सेन्ट जेभियर्स कलेजबाट व्यवस्थापन संकायमा स्नातक गरेपछि विनोदले केही नयाँ काम गर्ने साेचले बेचैन भए । जागिरतिर उनको फिटिक्कै ध्यान थिएन । अनि उनलाई मम व्यापारको ‘आइडिया’ फुर्‍यो ।

सहपाठी सागर दरियानीलाई विनोदले नेपालमा लोकप्रिय रहेको खाजा ममको व्यवसाय खोल्ने योजना सुनाए । सागरले साथ दिने भनेपछि उनी हौसिए । व्यापारमा सरिक भए । दुवैले यस व्यवसायका लागि ३० हजार रुपैयाँ लगानी गरे । कोलकाताकै बालट्रोनीमा एउटा सानो सटर भाडामा लिइयो । मम पसल थापियो । नाम दिइयो ‘वाउ मम’ । खानाका पारखी कोलकाताका बंगाली समुदायले मम खाएपछि साचिक्कै वावअर्थात् धेरै राम्रो भनी रुचाए । र, यो ब्राण्ड स्थापित भयो ।

ग्राहकको भीड हुन थालेपछि विनोदले ‘आउटलेट’विस्तारको योजना बनाए । आफ्नो कामप्रति उत्साह छँदै थियो, आफूले देखेको सपनालाई साकार गर्ने बाटो उनले अब देखिसकेका थिए । व्यवस्थापनको पढाइ गरेको हुनाले आफ्नो योजनालाई बुन्न र त्यसलाई व्यवस्थित रुपमा बढाउन ज्ञान पनि थियो उनीसँग । ‘आउटलेट’ थपिँदै गयो ।

अहिले उनी करिब साढे २ सय करोडको मार्केट भ्यालु भएको मम ब्राण्डका मालिक बनेका छन् । कोलकातामा मात्रै अहिले उनका ७५ आउटलेटबाट दैनिक २ लाख प्लेटभन्दा बढी मम बिक्री हुन्छ । करिब २ हजारलाई उनले रोजगारी दिएका छन् । सुरुमा काममा नेपालीलाई नै प्राथमिकता दिए पनि धान्न नसकेपछि जनशक्ति बढाउँदै लगे जसमा विभिन्न क्षेत्र र समुदायकाले रोजगारी पाएका छन् । नाम चलेका अन्तर्राष्ट्रिय ब्राण्ड द केएफसी, म्याकडोनल्ड र पिज्जा हटजस्तालाई भारतमा उनले ‘वाउ मम’मार्फत टक्कर दिइरहेका छन् । भारतकै उत्तरप्रदेश, नयाँदिल्ली, केरला, कर्नाटक, आन्ध्रप्रदेश, उडिसालगायत १० बढी प्रदेशमा वावममका पौने २ सय जति आउटलेट छन् ।

भारतका प्रमुख सहरहरूमा रहेका वाउको आउटलेटलाई थप नयाँ सहरहरुमा विस्तारको योजनामा छन् विनोद । भारतका सबै सहरमा आउटलेट स्टोर स्थापना गर्ने योजना उनको छ । भारत बाहिर अन्य मुलुकमा समेत वावममको आउटलेट लैजाने उनको निकट भविष्यको योजना छ । ‘वाउ ममलाई भारतको रहेक सहरमा पुर्‍याउने योजना छ,’ युवा उद्यमी विनोदले भने, ‘यसका लागि काम भइरहेको छ, भारत बाहिरबाट पनि प्रस्ताव आएका छन्, त्यसलाई समेत कार्यान्वयन गर्नु छ ।’ तीन भाइमध्येमा जेठा विनोद हुन् । उनका माहिला भाइ दिनेशले नयाँदिल्लीमा बसेर वावममको व्यापार सम्हाल्दै छन् । कान्छा भाइ लालकृष्ण कोलकातामै छन् ।

उनको व्यावसायिक सफलताको मुल्यांकन गर्दै भारत सरकारले कदरस्वरुप गतवर्ष २०१७ मा उनलाई ५ लाख रुपैयाँ राशिसहित‘यङ इन्टरप्रेनर’ अवार्ड दिएको थियो । भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले उनलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।

छोराको व्यावसायिक सफलताबाट विनोदका बुवा नारायण हुमागाईं निकै खुसी छन् । ‘मैले छोराहरुलाई शिक्षा दिने काम गरँे, आज आफू नै ज्ञान र सीपले अगाडि बढ्दा र सफलताको सिँढी चढ्दा मलाई अत्यन्त खुसी लाग्छ,’ बुवा नारायणले नागरिक परिवारलाई भने, ‘कोलकाताजस्तो महानगरमा एउटा नेपालीको छोराले सफलता हासिल गर्नु सबै आप्रवासी नेपालीका लागि गर्वको कुरो हो, स्वदेश जाँदा वा त्यहाँका मानिसहरु यहाँ भेट्दा उनीहरुले पनि खुसियाली जनाउँछन् ।’

‘व्यवसायमा नयाँ प्रयोग गर्न कहिल्यै डराउँदिन, वावममको सफलताको सूत्र यही हो,’ विनोदले भने, ‘ग्राहकले जुन स्वादमा चाहन्छन् त्यस अनुसारको मम हामी पस्कन सकेका हुन्छौँ । प्रयोग जारी छ ।’ भेज र चिकेनदेखि चकलेट र मसरुमसम्म विभिन्न प्रकारका मम ‘वावमम’को आउटलेटमा रेस्टुरेन्टहरुमा पाइन्छ । कफी र अरु केही परिकार पनि मेनुमा सामेल छन् । कुनै बेला मैदाको डल्लोमा ममको सामग्री भरेर व्यवसाय थालेका विनोदलाई आउटलेटहरूको अनुगमन, नयाँ योजना निर्माण र बढ्दो आकारमा रहेको भारतको उदयमान यस ब्राण्डको व्यवसायको नेतृत्व गर्नमा भ्याइनभ्याइ छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *