व्यवहारिक शिक्षाबाट भविष्यको बाटो कोर्दै दीपशीखाका विद्यार्थी

चेतना अनलाइन

घोराही, २० चैत । किताबका पाना मात्रै पल्टाएर ज्ञान हासिल गर्ने समय अब विस्तारै बदलिँदै गएको छ । सिकाइ कक्षाको चार भित्ताभित्र सीमित नरही जीवनसँग जोडिन थालेको छ । यही परिवर्तनको सजीव उदाहरण बनेको छ दाङस्थित दीपशीखा आवासीय माध्यमिक विद्यालय । व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ मा सञ्चालन गरिएको ऐच्छिक विषय होटल म्यानेजमेन्ट ले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र आत्मनिर्भर भविष्यतर्फ उन्मुख गरिरहेको छ ।

विद्यालयले दुई वर्षअघि सुरु गरेको यो कार्यक्रम दाङ जिल्लामै विद्यालय तहमा होटल म्यानेजमेन्ट अध्ययन गराउने पहिलो प्रयासका रूपमा चिनिएको छ । सञ्चालक समिति अध्यक्ष माधव शर्मा भन्छन्, “हामीले शिक्षा केवल प्रमाणपत्रका लागि होइन, जीवन चलाउन सक्ने सीपका लागि दिनुपर्छ भन्ने सोचले यो विषय सुरु गरेका हौं । दुई वर्षमै विद्यार्थीहरूमा देखिएको आत्मविश्वासले हाम्रो निर्णय सही थियो भन्ने प्रमाणित गरेको छ ।”

विद्यालयका एकेडेमिक डाइरेक्टर निश्चल आचार्यका अनुसार आजको शिक्षा रोजगारसँग जोडिनैपर्छ । “होटल म्यानेजमेन्ट विषयले विद्यार्थीलाई सेवा, अनुशासन, व्यवस्थापन र उद्यमशीलता सिकाउँछ । भविष्यमा उनीहरू आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थामा पुगून् भन्ने हाम्रो उद्देश्य हो,” उनले बताए ।

यस विषयका शिक्षक सुजल खनाल विद्यार्थीहरूलाई सिद्धान्तभन्दा अभ्यासमार्फत सिकाइलाई जीवन्त बनाइरहेका छन् । उनी भन्छन्, “किचन व्यवस्थापनदेखि ग्राहक सेवा, बार सञ्चालनदेखि प्रस्तुतीकरणसम्म विद्यार्थीहरूले वास्तविक होटलको वातावरणमा सिकिरहेका छन् । सिकाइलाई अनुभवसँग जोड्दा विद्यार्थीमा उत्साह स्वतः बढ्छ ।”

विद्यालयले हरेक वर्ष विद्यार्थीलाई फाइभस्टार होटलको शैक्षिक भ्रमण गराउने व्यवस्था गरेको छ । त्यहाँ उनीहरूले अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउँछन् । साथै, समय समयमा आयोजना गरिने फुड फेस्टिभल ले विद्यार्थीको सिर्जनशीलता र आत्मविश्वास उजागर गर्ने मंच बनेको छ ।

गत शिवरात्रि मेलामा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले आफ्नै स्टल सञ्चालन गर्दै सानो होटल नै चलाए । खाना पकाउनेदेखि ग्राहक स्वागत र व्यवस्थापनसम्म सम्पूर्ण जिम्मेवारी उनीहरूले आफैं सम्हाले । अध्यक्ष शर्मा भन्छन्, “त्यो दिन विद्यार्थीहरूले केवल खाना बेचेका थिएनन्, उनीहरूले सीप र साहस प्रदर्शन गरेका थिए ।”

विद्यार्थी नविना बुढाथोकी अनुभव सुनाउँदै भन्छिन्, “हामीले बारका कामदेखि किचन आइटमसम्म सिकेका छौं । खाना कसरी पकाउने, सर्भिस कसरी गर्ने भन्ने सबै अभ्यास गरिरहेका छौं । अब हामी होटलमा काम गर्न आत्मविश्वासी भएका छौं ।”

विद्यार्थी ग्रिस्मा योगीका अनुसार व्यवहारिक अभ्यासले पढाइ रोचक बनाएको छ । “पहिले होटल सञ्चालन कसरी हुन्छ भन्ने कल्पना मात्रै थियो, अहिले हामी आफैं सञ्चालन गर्न सक्ने जस्तो लाग्छ,” उनले मुस्कुराउँदै भनिन् ।

त्यस्तै विद्यार्थी साइमन दहित भन्छन्, “यो विषयले हामीलाई जिम्मेवारी, अनुशासन र टिमवर्क सिकाएको छ । पढाइ सकिएपछि रोजगारी खोज्न होइन, रोजगारी सिर्जना गर्न सक्ने सपना देख्न थालेका छौं ।”

विद्यालयका प्रधानाध्यापक मनोज बुढाथोकीका अनुसार विद्यालयको लक्ष्य नै जीवनोपयोगी शिक्षा प्रदान गर्नु हो । “विद्यार्थीले पढेर बेरोजगार बस्नुपरोस् भन्ने हाम्रो चाहना होइन । सीप, आत्मविश्वास र चरित्र निर्माण हाम्रो शिक्षाको मूल आधार हो,” उनले स्पष्ट पारे ।

विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास अवलोकन गर्न पुगेका नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पनि कार्यक्रमको प्रशंसा गरे । उनले भने, “विद्यालय तहबाटै यस्तो व्यवहारिक शिक्षा सुरु हुनु अत्यन्त सकारात्मक संकेत हो । यसले शिक्षालाई श्रमसँग जोड्छ र युवालाई स्वावलम्बी बनाउँछ ।”

आजको शिक्षा प्रतिस्पर्धाको मात्र होइन, क्षमता निर्माणको यात्रा हो । दीपशीखा आवासीय माध्यमिक विद्यालयले सुरु गरेको होटल म्यानेजमेन्ट कार्यक्रमले देखाएको छ—सही दिशामा लगानी गरिएको शिक्षा भविष्यको उज्यालो दीप बनेर बलिरहन्छ ।

कक्षाकोठाबाट सुरु भएको सिकाइ जब भान्साघर, सेवा काउन्टर र वास्तविक जीवनसँग जोडिन्छ, तब विद्यार्थी केवल विद्यार्थी रहँदैनन्—उनीहरू भोलिका उद्यमी, व्यवस्थापक र आत्मनिर्भर नागरिक बन्ने यात्रामा अघि बढिसकेका हुन्छन् । दाङको शिक्षा क्षेत्रमा बलिरहेको यही दीपशीखाले अब नयाँ सम्भावनाको उज्यालो फैलाइरहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *