सञ्जिवनीका विद्यार्थीद्वारा गंगा माविमा स्वास्थ्य सचेतना कार्यक्रम

चेतना अनलाइन
घोराही, ४ चैत । नेपाल सञ्जिवनी इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रा.लि. मा हेल्थ असिस्टेन्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले घोराही उपमहानगरपालिका वडा नं. २ स्थित गंगा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ का विद्यार्थीहरूका लागि स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम प्रयोगात्मक अभ्यास अन्तर्गत सञ्चालन गरिएको हो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई पोषण, व्यक्तिगत सरसफाइ, बाल विवाह न्यूनीकरण, घरेलु हिंसा, लैंगिक हिंसा तथा स्वास्थ्य सुरक्षा जस्ता विषयमा जानकारी प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूलाई दैनिक जीवनमा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी बानी व्यवहारबारे सरल र व्यवहारिक ढङ्गले प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल सञ्जिवनी इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रा.लि. की एचए कोअर्डिनेटर सविना वलीले स्वास्थ्य सचेतना विद्यालय तहबाटै सुरु गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, “बालबालिकालाई सानै उमेरदेखि स्वास्थ्य, सरसफाइ र पोषणबारे सही ज्ञान दिन सकेमा भविष्यमा स्वस्थ समाज निर्माण गर्न सहयोग पुग्छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक व्यवहार विकास गराउँछ ।”

त्यसैगरी, गंगा माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज एम.वि. केसीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यवहारमा प्रत्यक्ष प्रभाव पार्ने बताए । उनले भने, “कक्षा कोठामा सिकाइने सैद्धान्तिक ज्ञानसँगै यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूलाई अझ सचेत र जिम्मेवार बनाउँछ । विद्यालयले यस्ता सहकार्यलाई निरन्तरता दिनेछ ।”

माध्यमिक तह सामाजिक विषय शिक्षक पाण्डव शर्माले विद्यार्थीहरूलाई लक्षित गरी गरिएको सचेतनामूलक कार्यक्रम निकै प्रभावकारी भएको उल्लेख गरे । उनले भने, “आजका विद्यार्थी नै भोलिका समाजका कर्णधार हुन् । उनीहरूमा स्वास्थ्यसम्बन्धी सही ज्ञान र चेतना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ । यस्ता कार्यक्रमले सामाजिक विकृति न्यूनीकरणमा समेत योगदान पुर्‍याउँछ ।”

कार्यक्रमकी ग्रुप लिडर मनिषा बुढा मगरले विद्यार्थीहरूले सिकेको ज्ञान समुदायसम्म फैलाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “हामीले सिकेको ज्ञान व्यवहारमा उतार्दै समुदायमा सकारात्मक सन्देश पुर्‍याउने प्रयास गरेका छौं । विद्यालयका विद्यार्थीहरू पनि यसबाट लाभान्वित हुनेछन् भन्ने विश्वास लिएका छौं ।”

कार्यक्रममा हेल्थ असिस्टेन्ट तेस्रो वर्षमा अध्ययनरत अनुराग खड्का, मुक्ति बुढा, विशाल बाँठा मगर, अनिशा पुन, कुमारी सञ्जु चौधरी, गंगा घर्ती, विद्या वली, जानु पुन मगर र सुप्रिया पुन मगरको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले समूहगत रूपमा विभिन्न विषयमा प्रस्तुतीकरण दिँदै विद्यार्थीहरूलाई सहभागितामूलक तरिकाले जानकारी गराएका थिए ।

सहभागी विद्यार्थीहरूले पनि कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूले सिकेका कुराहरू दैनिक जीवनमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमले विद्यालय स्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *